
अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक (डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्स) तुल्सी गब्बार्डले २०१६ को राष्ट्रपति निर्वाचनमा रुसले ट्रम्पलाई सहयोग गरेको आरोपको खण्डन गर्दै तत्कालीन राष्ट्रपति बाराक ओबामा प्रशासनमाथि गम्भीर आरोप लगाएकी छन् ।
रोयटर्सले २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेप भएको निष्कर्ष अमेरिकी गुप्तचर संस्था, स्वतन्त्र अनुसन्धानकर्ता र सिनेटको दुवै पक्षीय समितिले पुष्टि गरिसकेको दाबी गरेको छ ।
तर, हालै ह्वाइट हाउसमा उनले गरेको सम्बोधनमा यस्तो हस्तक्षेप कहिल्यै नभएको र तत्कालीन राष्ट्रपति ओबामाको प्रशासनले बनावटी प्रमाणहरू तयार पारेको जिकिर गरेकी छन् ।
उनको आश्चर्यजनक प्रस्तुतिले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ तरङ्ग ल्याएको रोयटर्सले लेखेको छ ।
उनले आफ्नो सम्बोधनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २०१६ को निर्वाचनमा रुसले सहयोग गरेको भन्ने स्थापित निष्कर्षलाई चुनौती दिँदै तत्कालीन राष्ट्रपति बाराक ओबामा प्रशासनमाथि गम्भीर आरोप लगाएकी हुन् ।
गब्बार्डले पत्रकारहरू सम्मिलित एउटा सम्मेलनमा भनेकी थिइन्, 'ओबामा प्रशासनले अमेरिकी जनताको इच्छालाई कमजोर पार्ने षड्यन्त्र रचेको थियो ।'
उनले ट्रम्पको जीतलाई बदनाम गर्न ओबामाका सल्लाहकारहरूले बनावटी रूपमा प्रमाणहरू तयार पारेको दाबी गरिन् ।
यद्यपि, कतिपय यस्ता दाबीहरू नयाँ नभएका र अधिकांश आधारहीन रहेका अमेरिकी सञ्चारमाध्यमहरूले जनाउने गरेका छन् । २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको पक्षमा प्रभाव पार्न खोजेको पुष्टि भएको थियो ।
गब्बार्डले आफ्नो प्रस्तुतिमा हाउस इन्टेलिजेन्स कमिटीका रिपब्लिकन कर्मचारीले तयार पारेको पुरानो प्रतिवेदनलाई आधार बनाएकी हुन् । उक्त प्रतिवेदनले रुसको हस्तक्षेपलाई स्वीकार गरे पनि गुप्तचर समुदायको मूल्याङ्कनमा प्राविधिक कमजोरीहरू भएको दाबी गर्छ ।
तर, उनले यो प्रतिवेदनको निष्कर्षलाई अतिशयोक्ति गरेर प्रस्तुत गरेको रोयटर्सको निष्कर्ष छ । विशेषगरी, उनले चर्चित 'स्टिल डोजियर'लाई लिएर विवादास्पद दाबी गरेकी थिइन् । जुन ट्रम्प र रुसबीचको सम्भावित सम्बन्धबारे अपुष्ट सूचनाहरू समावेश भएको कागजात हो ।
यो कागजातलाई ट्रम्प समर्थकहरूले रुसी हस्तक्षेपबारे भएको अनुसन्धानलाई 'बदनाम' गर्न प्रयोग गर्दै आएका छन् । तर, त्यतिबेला एफबीआई (फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन)ले उक्त कागजातलाई आफ्नो अनुसन्धानको आधार बनाएको थिएन ।
ट्रम्प रगब्बार्डको सम्बन्ध
हवाईकी पूर्व डेमोक्रेटिक 'कंग्रेसवुमन' गब्बार्डको ट्रम्प प्रशासनसँगको सम्बन्ध निकै रोचक छ । उनले सन् २०२० मा डेमोक्रेटिक राष्ट्रपतिका लागि उम्मेदवारीको दौडमा भाग लिएकी थिइन्, तर पछि ट्रम्पको राजनीतिक अभियानमा सामेल भइन् ।
उनको यो राजनीतिक चलाखीलाई ट्रम्पको विश्वास जित्ने र उनको 'एजेन्ट'का रूपमा आफूलाई स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ । ट्रम्पले गब्बार्डले गरेको सम्बोधनको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै उनको प्रशंसा गरेका छन् ।
यसैबीच, ट्रम्पले यसअघि गब्बार्डको इरानसम्बन्धी विश्लेषणलाई अस्वीकार गरेका थिए । गब्बार्डले इरानले आणविक हतियार बनाएको छैन भनेर दाबी गरेकी थिइन् ।
त्यसलाई चुनौती दिँदै गत जुनमा ट्रम्पले भनेका थिए, 'मलाई उनले के भनिन् भन्ने कुराको वास्ता छैन, तर इरान आणविक हतियारको एकदम नजिक छ ।'
तर, यसअघि यी दुईबीच देखिएको विश्वासको संकट पछिल्लो समय हल भएको संकेत देखिन्छ ।
समय र सन्दर्भ
गब्बार्डले ट्रम्पको पक्षमा दिएको वक्तव्यको समयले धेरैको ध्यान खिचेको छ ।
ट्रम्पको जेफ्री एप्स्टिनसँगको सम्बन्ध र उनको प्रशासनले एप्स्टिनका फाइलहरूको हेरफेरमा गरेको ढिलासुस्तीको आलोचनाबाट ध्यान हटाउने रणनीतिका रूपमा गब्बार्डको यो सम्बोधनलाई हेरिएको छ ।
गब्बार्डले एप्स्टिन फाइलहरू ट्रम्पको पहिलो कार्यकालमा किन सार्वजनिक गरिएन भन्ने प्रश्नको जवाफ दिन भने सकिनन् । गब्बार्डको भनाइको समय र सन्दर्भबारे रोयटर्सले सोधेको प्रश्नमा उनको कार्यालयले केही टिप्पणी गरेको छैन ।
ह्वाइटहाउसका प्रेस सचिव क्यारोलिन लेभिटले यस्तो प्रश्नलाई खारेज गर्दै गब्बार्डको प्रेरणामाथि प्रश्न उठाउनु अनुचित भएको बताएकी छन् ।
अन्तर्राष्ट्रिय प्रभाव र गुप्तचरसंस्थाको विश्वसनीयता
गब्बार्डको कदमले अमेरिकी गुप्तचर संस्थाहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ । डेमोक्रेट सिनेटर मार्क वार्नरले उनको यस्तो भनाइलाई लिएर राजीनामा मागेका छन् ।
वार्नरले भनेका छन्, 'ट्रम्प प्रशासन एप्स्टिन फाइलबाहेक सबै कुरा डिक्लासिफाइ गर्न तयार छ ।'
उनले गब्बार्डको यस्तो अभिव्यक्तिले अमेरिका र अन्य देशबीचको सूचना साझेदारीमा कमी आउन सक्ने चेतावनी दिए ।
यता, रिपब्लिकन सांसदहरूले भने गब्बार्डको जमेर समर्थन गरेका छन् ।
रोयटर्सका अनुसार हाउस इन्टेलिजेन्स कमिटीका अध्यक्ष रिक क्रफोर्डले गब्बार्ड र पूर्व गुप्तचर निर्देशक जोन र्याटक्लिफले गुप्तचर समुदायको विश्वास पुनर्स्थापना गर्न काम गरिरहेको दाबी गरेका छन् ।
तर, डेमोक्रेट सांसद जिम हाइम्सले गब्बार्डको दाबीलाई खारेज गर्दै उनको निष्कर्षलाई बहुपक्षीय अनुसन्धानहरूले खारेज गरेको बताए ।