
आफ्ना शैक्षिक तथा प्रशासनिक मागहरू पुरा नभएको भन्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन संयुक्त क्याम्पस ललितपुरमा अर्थशास्त्र विभागमा अध्ययनरत विद्यार्थी शंकर तिवारीले अनशन शुरू गरेका छन् ।
पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि उनी आइतबार बिहानदेखि क्याम्पस परिसरमै अनसन बसेका हुन् ।
उनले क्याम्पस र विश्वविद्यालय प्रशासनसँग विभिन्न सुधारका माग गरेका छन् । पाठ्यक्रम निर्धारित समयमा सम्पन्न गर्नुपर्ने, गेस्ट लेक्चर र आन्तरिक शिक्षकको प्रभावकारी उपस्थितिका लागि सुनिश्चितता गर्नुपर्ने, गुणस्तरीय शिक्षण र मूल्यांकन प्रणाली लागू गर्नुपर्ने, पाठ्यपुस्तक तथा अध्ययन सामग्री समयमै उपलब्ध गराउनुपर्ने, विभागीय प्रशासनलाई व्यवस्थित गर्नुपर्ने, भवन तथा परिसरको सवारी व्यवस्थापन सुधार गर्नुपर्नेलगायत उनका माग छन् ।
यसबाहेक, उनले १५० घण्टाको निर्धारित पाठ्यक्रम समयमै नसकाउने शिक्षकहरूमाथि कडा कारबाही हुनुपर्ने माग पनि अघि सारेका छन्।
माग सम्बोधन नभएसम्म अनशन नतोड्ने तिवारीले अडान लिएका छन् ।