
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थातथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
उर्मिलासहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेला पारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए ।
'हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ,' उनले भने, 'उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।'
घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिए । उनीहरूबारे थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।