
काठमाडौं, २४ मङ्सिर- प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चर्चित नेताहरूले पराजय भोगेका छन् । खासगरी नेपाली कांग्रेसले समर्थन गरेका लोकतान्त्रिक गठबन्धनका चर्चित अनुहारसमेत यो निर्वाचनमा पराजित भएका छन् भने कोही पराजय हुने क्रममा छन्, राजधानी दैनिकमा खबर छ ।
कांग्रेसका मिनेन्द्र रिजाल, गगन थापा, प्रकाशमान सिंहलगायतका केही नेताले विजय हासिल गरिसकेका छन् । तर अन्य शीर्ष नेताहरू मतका हिसाबले निकै पछाडि देखिन्छन् ।
कांग्रेसकै समर्थन पाएका सिन्धुपाल्चोक–२ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा पराजित भएका छन् ।
उता, काठमाडौं–१० मा संयुक्त वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हितमान शाक्य पराजित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसीले शाक्यलाई २ हजार २ सय ८३ मतले हराएका हुन् ।
काठमाडौं–४ मा नेकपा एमालेका नेता डा. राजन भट्टराई पराजित भएका छन् । निकै चासोको निर्वाचन क्षेत्रका रूपमा लिइएको यस क्षेत्रमा कांग्रेसका नेता गगनकुमार थापा विजयी भए । थापा २१ हजार ५ सय ५८ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित हुन सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भट्टराईले १८ हजार १ सय ४० मत ल्याए ।
यस्तै मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पराजित भएका छन् । वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कांग्रेस नेता कोइरालालाई ६ सय ७५ मत अन्तरले पराजित गरेका हुन् ।
ओखलढुंगामा कांग्रेस नेता रामहरि खतिवडा पराजित भएका छन् । प्रतिनिधिसभा सदस्यमा संयुक्त वाम गठबन्धनका उम्मेदवार तथा एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले कांग्रेस नेता खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पार्दै विजयी भएका हुन् ।
यस्तै सिन्धुपाल्चोक–१ मा कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत पराजित भएका छन् । सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका बस्नेतलाई वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले १० हजार ६ सय ६ मतान्तरले पराजित गरेका हुन् ।
मोरङ–४ मा कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्य पराजित भएका छन् ।
गरिबी निवारण तथा सहकारी विकासमन्त्रीसमेत रहेकी अम्बिका बस्नेत नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईसँग पराजित भएकी हुन् ।
यस्तै, काठमाडौं–८ मा कांग्रेसका नवीन्द्रराज जोशी पराजित भएका छन् । वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता जीवनराम श्रेष्ठसँग जोशी पराजित भएका हुन् ।