
समाजवादी मोर्चाले देशमा दुई वटा थ्रेट आएको र आफूहरू पनि अल्मलिएको निष्कर्ष निकालेको छ ।
मोर्चाको मंगलबार बसेको बैठकले गणतन्त्रलाई थ्रेट गर्ने प्रवृत्ति देखिएको र राज्यले जनतालाई आशावादी बनाउन नसकेको निष्कर्ष निकालेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । मोर्चा गठनको एक वर्ष अपेक्षित नभएको उनको भनाइ छ ।
‘देशको स्थिति जटिल छ । गणतन्त्रलाई थ्रेट गर्ने प्रवृत्ति छ । अर्कोतिर राज्य सञ्चालनको तौरतरिका निराशाजनक छ । युवा पलायन, पैसा पलायन, देशमा के होला भन्ने हलचल जनतामा छ,’ विश्वकर्माले भने, ‘यसैले मोर्चाले जुन ढंगले गति लिनुपर्थ्यो तर भएन । जनताको अपेक्षालाई परिपूर्ति गर्नुपर्थ्यो । यसमा सीमा रहे । नेताको कार्यव्यवथाले समस्या भयो । मोर्चालाई एकरूपतामा लाने । सीमालाई निर्ममतापूर्वक सच्चाउनुपर्छ भन्नेमा पुग्यौं । देशलाई समाजवादी गणतन्त्र तहमसम्म लाने गरी नयाँ ढंगले मोर्चा लाग्नुपर्छ ।’
जनजिविकका सवाल, भ्रष्टाचार, कमिसन, कालोबजारी बढेको भन्दै मोर्चाले जनसंघर्ष, आन्दोलन र अन्तरक्रिया कार्यक्रम गर्ने उनले बताए । यसको लागि भदौमा कार्यक्रम ल्याउने उनको भनाइ छ । भदौपछि देशव्यापी कार्यक्रम लैजाने मोर्चाले अरु समूहसँग छलफल र बहस गर्दै जाने पनि उनले बताए ।
आफू मिलेर मोर्चा गठन गर्दा जनताको उत्साह देखिएको पनि उनले बताए ।
‘मोर्चा राष्ट्रिय परिस्थितिको आवश्यकताले गठन भएको थियो, आबद्ध पार्टीका नेताले जुन विचार अगाडि सारेर मोर्चा गठन भयो । त्यो आवश्यकता थियो । गठन गरेर कार्यक्रम लन्च गरेपछि काठमाडौं र सातै प्रदेशमा कार्यक्रम गरेपछि नेता, कार्यकर्ता र जनताका आशा, नयाँ शक्तिको अनुभूति गरे,’ विश्वकर्माले भने, ‘राजावादीको षडयन्त्रलाई जनताको आन्दोलनले चिर्यो । काठमाडौंमा वृहत् जनप्रदर्शन भयो । जसले यथास्थितिवादी र प्रतिगमनलाई असफल बनायो । मोर्चा सफल भयो । तर यसलाई अझै व्यापक बनाउनुपर्छ भन्ने हाम्रो निचोड रह्यो ।’