
सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरस्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौं लगानीको ‘विष्णु भवन’ वर्षौंदेखि प्रयोगविहीन अवस्थामा छ ।
वृद्धाश्रम सञ्चालनको उद्देश्यले करिब तीन करोड रूपैयाँमा बनेको उक्त भवन अहिले जर्जर बन्दै गएको छ ।
भवन निर्माणका लागि शुरूमा दुई करोड ५० लाखको बजेट ल्याइएको थियो भने ठेक्का सम्झौता दुई करोडमा गरिएको थियो । पछि भान्साघर निर्माणका लागि थप एक करोड खर्च भएको पूर्ववडाध्यक्ष गोविन्द्र यादवले जानकारी दिए ।
उनले भने, ‘मैले जुन उद्देश्यले भवन बनाएको थिएँ, त्यो हुन नसके पनि अहिले कम्तीमा पालिकाको कार्यालय चलाउँदा भवनको सुरक्षा र सरकारी रकमको बचत हुन्थ्यो ।’
२४ वटा कोठा, छुट्टै भान्साघर र आवश्यक पूर्वाधार रहेको सो भवनको झ्याल, ढोका, शौचालयमा क्षति हुन थालेको छ । स्थानीय नागेश्वर यादवले भने, ‘सरकारी रकमले बनेको भवन यतिकै अलपत्र छ, तर पालिकाले लाखौं तिरेर भाडामा बसिरहेको छ ।’
गाउँपालिकाका लेखा सहायक गङ्गाप्रसाद यादवका अनुसार पालिकाले हाल चारवटा छुट्टाछुट्टै भवन भाडामा लिएको छ, जसमा वार्षिक १२ लाखभन्दा बढी खर्च भइरहेको छ ।
पालिका अध्यक्ष सत्यनारायण यादवले भवनमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने पहल गरिरहेकाले सीटीईभिटीसँग समन्वय भइरहेको जानकारी दिए । तर, अन्य जनप्रतिनिधिले अध्यक्षको भनाइ भ्रम छर्ने प्रयास मात्र भएको आरोप लगाएका छन् ।