२३ असार २०८३, मंगलबार

पाहलगाम आक्रमणमा संलग्न तीन पाकिस्तानी मारिएको भारतको दाबी

साउन १३, २०८२
काठमाडौं
पाहलगाम आक्रमणमा संलग्न तीन पाकिस्तानी मारिएको भारतको दाबी

भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा अप्रिल २२ मा भएको आक्रमणमा संलग्न तीन पाकिस्तानी आतंकवादी मारिएको भारतीय गृहमन्त्री अमित शाहले जनाएका छन् ।

मंगलबार लोकसभामा बोल्दै उनले सुलेमान उर्फ असिफ जट्ट, अफगान र जिब्रान नाम गरेका तीन पाकिस्तानी नागरिक ‘अपरेसन महादेव’ अन्तर्गत सुरक्षा बलद्वारा मारिएको जानकारी दिएका हुन् । 

कश्मीरमा एक नेपालीसहित २६ जनाको गोली हानी हत्या भएको तीन महिनाभन्दा बढी समयपछि सोमबार सैन्य कारबाहीमा हतियारधारी ती मानिस मारिएको उनले जानकारी दिएका हुन् । सोमबारको कारबाहीको नाम ‘अपरेसन महादेव’ रहेको छ । 

गृहमन्त्री शाहले मारिएका तीनमध्ये दुई जना पाकिस्तानमा रहेको संयुक्त राष्ट्र संघद्वारा घोषित आतंकवादी समूह लस्कर–ए–तैयबाका सदस्य रहेका बताए । 

प्रत्यक्षदर्शीको बयान, गोलीको मिलान र पाकिस्तानी मतदाता परिचयपत्रलगायत प्रमाणका आधारमा उनीहरूको पहिचान पुष्टि भएको पनि शाहले उल्लेख गरे ।

यसैगरी, उक्त आक्रमणको प्रतिकारस्वरूप सञ्चालन गरिएको अभियानलाई सफल बनाउने सुरक्षाकर्मीलाई भारतीय रक्षामन्त्री राजनाथ सिंहले राज्यसभाबाट बधाई दिएका छन् । उनले आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारतले तत्काल र कडा प्रतिकार गर्ने नीति अनुरूप कारबाही गरेको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सुरक्षासम्बन्धी निर्णयमा सेना प्रमुखहरूको सल्लाह अनुसार काम भएको उल्लेख गरेका छन् । उनले ‘अपरेसन सिन्दूर’को सन्दर्भ उल्लेख गर्दै मे ९ मा करिब १ हजार पाकिस्तानी मिसाइल र ड्रोनहरू लक्षित गरिएको जानकारी गराएका थिए ।

उक्त अभियानको उद्देश्य स्पष्ट भए पनि विपक्षी दलहरूले समय छनोट र कार्यान्वयनको प्रक्रिया बारे प्रश्न उठाएका छन् । प्रधानमन्त्री मोदीले विपक्षीहरूलाई ‘राजनीतिक हिसाबले निराश’ भन्दै आलोचना खारेज गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्