
रुसको कम्चात्का प्रायद्वीप नजिक समुद्रमा बुधबार आएको ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले सम्पूर्ण प्रशान्त क्षेत्रभर त्रास फैलाएको छ ।
भूकम्पपछि उत्पन्न सुनामीका छालले हवाई, क्यालिफोर्निया र अन्य अमेरिकी राज्यहरूको तटीय क्षेत्रसम्म प्रभाव पारेका छन् ।
भूकम्पसँगै दर्जनौं देशमा सतर्कता जारी गरिएको छ भने जापान, अमेरिका र रुसमा करोडौं मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ ।
भूकम्प स्थानीय समयअनुसार बिहान ११:२५ बजे रुसको कम्चात्का प्रायद्वीपको तटीय क्षेत्रबाट केही किलोमिटर टाढा, समुद्रको सतहमुनि केन्द्रित थियो ।
अमेरिकी भूगर्भ विभागका अनुसार यो भूकम्प पछिल्ला वर्षहरूमा रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक हो ।
भूकम्पपछि समुद्रको सतहमा तीव्र उथलपुथल भयो, जसका कारण विशाल सुनामी छालहरू उत्पन्न भए र तटीय क्षेत्रमा क्रमशः फैलिँदै गए ।
जापानमा आपतकालीन सतर्कता, लाखौंको विस्थापन
जापानको मौसम विज्ञान विभागले उत्तरतर्फको इवाते प्रिफेक्चरमा करिब १ दशमलव ३ मिटर उचाइको सुनामी छाल आएको पुष्टि गरेको छ ।
सरकारले इवाते लगायतका तटीय क्षेत्रहरूमा बसोबास गर्ने १९ लाखभन्दा बढी नागरिकलाई तुरुन्त सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको छ ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले नागरिकहरूलाई सतर्क रहन र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेका छन् । सबै स्थानीय निकायहरू आपतकालीन प्रतिक्रियामा जुटेका छन् ।
अमेरिकाको हवाई र क्यालिफोर्नियामा सुनामी
रुसको भूकम्पपछि अमेरिकी राष्ट्रिय मौसम सेवाले प्रशान्त महासागर क्षेत्रका तटीय राज्यहरूलाई सुनामी सम्बन्धी चेतावनी जारी गरेको छ । यसै क्रममा हवाई टापु समूह र क्यालिफोर्नियाको केही भागमा सुनामीका छाल पुगेका छन् ।
हवाईको बिग आइल्याण्डमा रहेकी एक बेलायती पर्यटक सारा विलियम्सको भनाइ उदृत गर्दै बीबीसीले लेखेको छ, ‘हामी समुन्द्र किनारमै घुमिरहेका थियौं, अचानक साइरन बज्न थाल्यो । सबै मानिसहरू जहाजतर्फ दौडिए । त्यति बेला सबैलाई त्रस्त थिए ।’
हवाई र क्यालिफोर्नियाका तटीय क्षेत्रमा मानिसलाई उच्च स्थानमा जान तथा तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ । अमेरिकी संघीय आपतकालीन व्यवस्थापन एजेन्सी र अन्य निकायले व्यापक तयारीको अवस्था घोषणा गरेका छन् ।
भूकम्पको केन्द्रविन्दु नजिकै रहेको कम्चात्का प्रायद्वीपमा भूकम्पको प्रभाव निकै तीव्र रहेको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय प्रशासनले जनतालाई खुला स्थानमा बस्न आग्रह गरेको छ ।
फिलिपिन्स, टोंगा, पपुवा न्यूगिनी, फिजी, ताइवान, न्युजिल्याण्ड लगायत प्रशान्त क्षेत्रका अन्य राष्ट्रहरूले पनि उच्च सतर्कता अपनाएका छन् ।
कतिपय देशहरूले तटीय सेवा स्थगन गरेका छन् भने हवाई उडानहरू समेत प्रभावित भएका छन् ।
सुनामीको सम्भावित जोखिम कायम
भूगर्भविद्का अनुसार यति शक्तिशाली भूकम्पपछि केही दिनसम्म परकम्पहरू आइरहने सम्भावना रहन्छ । समुद्री सतहमा उत्पन्न गहिरो उथलपुथलका कारण सुनामीको प्रभाव अलग–अलग क्षेत्रमा फरक देखिन सक्ने विज्ञहरूको भनाइ छ ।
अमेरिकी राष्ट्रिय मौसम सेवाले भनेको छ, ‘कतिपय क्षेत्रमा छालहरू सामान्य देखिए पनि, कतै तीव्र असर देखिन सक्छन् । त्यसैले खतरा टरेको घोषणा नहुँदासम्म सतर्क रहन आवश्यक छ ।’
रुसमा उत्पन्न शक्तिशाली भूकम्पले प्रशान्त क्षेत्रका दर्जनौं राष्ट्रहरूलाई उच्च सतर्कताको अवस्थामा पुर्याएको छ । यद्यपि भूकम्प र त्यसपछि सिर्जित सुनामीका कारण हालसम्म ठूलो मानवीय क्षतिको खबर आएको छैन ।
तर, सम्भावित सुनामीको असर अझै बाँकी रहन सक्ने भएकाले सम्बन्धित देशहरूले आफ्ना नागरिकलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएका छन् ।