
बलात्कार मुद्दामा मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (झा)लाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
बुधबार भएको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।
अदालतको आदेशपछि उनी डिल्लीबजार कारागार चलान भएका छन् ।
अहिराजविरुद्ध एक नाबालिकासँगको सम्बन्धलाई लिएर महिला प्रहरी सेलमा उजुरी परेको थियो ।
बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतबाट गत चैत २५ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई प्रहरीले साउन ४ मा काठमाडौंबाट पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले अहिराजविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरेको थियो ।
२०८१ जेठ ४ गते आफू डेरामा बसिरहेका बेला अहिराजले कोही नभएको मौका छोपेर मुख थुनेर आफूलाई जबर्जस्ती करणी गरेको आरोप पीडित युवतीको छ ।
तर, त्यसलाई अहिराजले खण्डन गर्दै विदेश जाने भनेर युवतीले आफूसँग पटकपटक पैसा मागेको र उक्त रकम नदिएपछि आफूविरुद्ध षडयन्त्रको रूपमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दिएको सरकारी वकिलसँगको बयानमा उल्लेख गरेका छन् ।
बयानमा अहिराजले २०८१ भदौ १८ गते युवतीले आफूलाई ह्वाट्सएपमा लक्ष्मी सनराइज बैंकको खाता पठाएको र २३ गते आफूले तीन लाख दिएपछि बैंकमा जम्मा गरेर स्लिप देखाई गाडीमा बसेर होस्टलमा गएको उल्लेख गरेका छन् । अहिराजले बयान दिए अनुसार उनीसँग युवती, उनकी आमा र भाइले पटकपटक पैसा दिन धम्की दिएका थिए । शुरूमा ६० लाखदेखि बार्गेनिङ गरेर अन्तिममा २० लाखसम्म दिए कतै उजुरबाजुर नगर्ने भनेर युवती र उनकी आमाले आफूलाई धम्की दिएको कुरा अहिराजले बयानमा खुलाएका छन् ।
तर, पीडित युवतीले भने आफूलाई बलात्कार गर्दा अहिराजले ‘नेपालमा पैसा र पावर हुनेकै कानून छ, तँ मधेशी परिवारको छोरी होस्, यो कुरा बाहिर आयो भने मधेशी समाजले बहिष्कार गर्छ, तँ र तेरो परिवार कहीँ कतै मुख देखाउन लायक हुनेछैन’ भन्दै धम्की दिएको बयानमा उल्लेख गरेकी छिन् । युवतीले आफ्नो अस्मिता लुटेर जिउँदो लास बनाउने अहिराजलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छन् ।
अहिराजले आफूमाथि पटकपटक पैसाको बार्गेनिङ गरेपछि २०८१ मंसिर ७ मा जिल्ला प्रहरी परिसर काठमाडौंमा आपराधिक लाभ (एक्सटर्सन)को जाहेरी दर्ता गराएको तर, त्यसमा प्रहरीले कुनै कारबाही अघि नबढाएको कुरा बयानमा उल्लेख गरेका छन् ।