२९ जेठ २०८३, शुक्रबार

पार्टीभित्र झगडा गरेर समय खेर नफालौं : मन्त्री देउवा

साउन १४, २०८२
पाेखरा
पार्टीभित्र झगडा गरेर समय खेर नफालौं : मन्त्री देउवा

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले ससाना विषयमा पार्टीमा झगडा गरेर समय खेर नफाल्न कांगेसका नेता कार्यकर्तालाई आग्रह गरेकी छन् । 

नेपाल तरुण दल कास्कीद्वारा बुधबार पोखरामा आयोजित ‘नेपालको परराष्ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाको सरोकार विषयक संवाद कार्यक्रम’मा उनले आन्तरिक विवादलाई पार्टीभित्रै मिलाउनुपर्ने बताइन् । 

‘दलमा, संगठनमा झगडा हुन्छ, तर त्यसलाई त्यहीँभित्र मिलाउनुपर्छ, ससाना विषयमा चित्त दुखाएर पार्टी नै छाडेर हिँड्ने, नेताहरूलाई गाली गर्ने प्रवृत्ति कांग्रेसका सदस्यहरूले त्याग्नुपर्छ’, उनले भनिन्, ‘परिवारभित्र पनि झगडा हुन्छ, तर कसैले घर छोडेर त हिँड्दैन, पार्टी पनि एउटा परिवार हो, झगडा भए पनि भित्रै मिलाउनुपर्छ ।’

कांग्रेसकासामु मुलुकलाई नेतृत्व गर्ने राम्रो अवसर आएको भन्दै उनले पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्नुपर्ने बताइन् । साना कुरामा पार्टीमा मनमुटाव गरेर बस्न नहुने उनको भनाइ छ ।

मन्त्री देउवाले राजनीतिमा धैर्यता र सकारात्मक सोच चाहिने भन्दै पद र अवसर नपाए पार्टी नै छोडेर हिँड्ने प्रवृत्ति गलत भएको टिप्पणी गरिन् । पुराना दल र तिनका नेतालाई लिएर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले नयाँपुस्ता भन्दैमा सबै राम्रो नहुने र बुढ्यौली लाग्दैमा सबै गलत नहुने उल्लेख गरिन् । 

‘त्याग, बलिदान र संघर्षबाट आएका पार्टीहरूलाई अवमूल्यन गर्ने, यो देश खत्तम भयो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, त्यसलाई चिर्न हामीले जनताप्रति गरेका वाचा समयमा पूरा गर्नुपर्छ’, मन्त्री देउवाले भनिन्, ‘हाम्रा कार्यशैलीगत कमजोरी छन् भने सुधार्नु पर्छ, सुशासनमा ध्यान दिनुपर्छ ।’

निजी स्वार्थ त्यागेर देश र जनताका लागि राजनीति गर्न कांग्रेसका अग्रज पुस्ताले सिकाएको उनको भनाइ छ ।  

फरक प्रसङ्गमा मन्त्री देउवाले नेपालले अन्तर्राष्ट्रिय जगतमा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताइन् । उनले नेपाललाई जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राखिन् । 

सो विषयमा हालै अन्तर्राष्ट्रिय न्यायिक अदालतमासमेत नेपालका पक्षबाट आफूले आवाज उठाएको उल्लेख गर्दै मन्त्री देउवाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नु परिरहेको बताइन्  । 

‘हामीलाई हानिनोक्सानी कोष दिनुपर्ने, बाढीपहिराले भत्केका पुल, विद्यालयजस्ता भौतिक संरचना बनाइदिनुपर्ने विषयमा जोडका साथ उठाएका छौं’, उनले भनिन्, ‘नेपालले पनि कार्बन उत्सर्जनलाई शून्यमा झार्नुपर्छ, अहिले रहेको ४५ प्रतिशत वन क्षेत्रलाई अझ बढाउन वृक्षरोपण अभियान सञ्चालन गर्नुपर्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्