
अस्पताल लैजान नसक्ने अवस्थामा रहेकी एक शिशुको ज्यान बचाउने काममा संलग्न बैतडीकी अनमी जानकी पुजारालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले फोनमार्फत बधाई तथा धन्यवाद दिएका छन्।
स्वास्थ्य सेवाको पहुँच नपुगेको दुर्गम स्थानमा रही एक शिशुको जीवनरक्षा गर्न सफल सिगास गाउँपालिका–४ स्थित कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी जानकी पुजाराको प्रशंसामा मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत खुलेर सम्मान प्रकट गरेका हुन्।
“स्वासप्रस्वासमा समस्या देखिए पनि भौगोलिक कठिनाइका कारण अस्पताल लैजान नसकिएकी शिशुको जीवनरक्षामा भगवानरुपी योगदान दिन सफल अनमी जानकीसँग फोनमा कुराकानी गरेर बधाई दिएँ,” पौडेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।
उनले थप लेखेका छन्, “देशको स्वास्थ्य सेवा सुधार र विस्तारका लागि हामीले प्रयास गरिरहेका छौं। यस्तोमा नागरिकको जीवनरक्षामा अनवरत खटिइरहने स्वास्थ्यकर्मीहरूको हात सबैभन्दा महत्वपूर्ण छ। जानकीजी, देशलाई साँच्चै तपाईं जस्तै समर्पित स्वास्थ्यकर्मीहरूको खाँचो छ।”
स्वास्थ्यमन्त्री पौडेलले देशका दुर्गम क्षेत्रमै रहेर सेवा गर्ने स्वास्थ्यकर्मीहरूको योगदानको उचित मूल्यांकन गरिने पनि जनाएका छन्।
जानकीले एक शिशुलाई मुखले नै लामो समय कृतिम स्वास दिएर जीवन बचाएकी थिइन् ।