२८ असार २०८३, आइतबार

सहमति कार्यान्वयन नहुँदा बागमती संसदीय दलमा समस्या आयो- उपप्रधानमन्त्री सिंह

साउन १५, २०८२
काठमाडौं
सहमति कार्यान्वयन नहुँदा बागमती संसदीय दलमा समस्या आयो- उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस बागमती प्रदेशमा संसदीय दलमा सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको बताएका छन् । 

नेपाली कांग्रेस रामेछाप गुन्सी १ ले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सहमति कार्यान्वयन नहुँदा बागमती प्रदेशको विषय बाहिर आएको उनले बताए । 

‘पार्टी सञ्चालन गर्दा साथीभाइबीच भएको सहमतिलाई त सबैले पालना गर्नुपर्छ नि ! विश्वासको संकट भयो भने पार्टी राम्रोसँग अगाडि बढ्न सक्दैन । सहमति भएपछि सोही अनुसार अगाडि बढेको भए यसरी बाहिर आउँदैनथ्यो भन्ने कुरा सबैले बुझ्नुपर्‍यो,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले समावेशी संविधान कांग्रेसकै नेतृत्वमा जारी भएको, कुनै पदमा पुगेपछि सोही अनुसारको आचरण सिक्नुपर्ने भन्दै बागमती प्रदेशको निर्णय कुनै जात विशेषलाई हेरेर नभएको पनि प्रस्ट पारे । 

नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री सिंहले पार्टीलाई  व्यवस्थित गरेर लैजानुपर्नेमा पनि जोड दिए । २०५६ सालदेखि नै पार्टीलाई विधिसम्मत र संस्थागत गरेर जानुपर्छ भनेर आफूले भन्दै आएको स्मरण गराउँदै उनले अहिलेको चुनौती सामना गर्नका लागि कांग्रेसलाई व्यवस्थित गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री र पार्टी सभापति बाहेक सबै भूमिकामा काम गरिसकेको भन्दै आफ्नो बाँकी जीवन पार्टीलाई बलियो बनाउनका लागि समर्पण गर्ने पनि बताए । 

यसैबीच, उनले संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमतिलाई कम आँक्न नहुने बताएका छन् । 

‘७ बुँदे सहमतिलाई कम नआँकौं । राजनीतिक स्थिरता ल्याउनका लागि दुई ठूला दल कांग्रेस र एमालेले अरु दललाई पनि समेटेर वर्तमान सरकार बनेको छ ,’ उनले भने, ‘६/७ महिनामा सरकार परिवर्तन भएको भयै थियो । नागरिकले सरकार त टिक्दैन भने सरकारले अरु के गर्छ ? भनेर प्रश्न गरिरहनुभएको थियो । अहिले सरकारले स्थिरता पाएको छ । राजनीतिक स्थिरताकै जगमा नागरिकको जीवन र जीविका सहज बनाउन सरकारले काम गरिरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्