०१ साउन २०८३, शुक्रबार

‘मानव बेचबिखनको उजुरी कम, पीडित पहिचान र नियन्त्रणमा चुनौती’

साउन १५, २०८२
काठमाडौं
‘मानव बेचबिखनको उजुरी कम, पीडित पहिचान र नियन्त्रणमा चुनौती’

प्रविधिको विकाससँगै मानव बेचबिखनका स्वरूप, पारगमन र गन्तव्य बदलिँदै गएका छन् । तर नेपालमा मानव बेचबिखन नियन्त्रणको प्रयास प्रभावकारी नहुँदा यो समस्या थप जटिल बन्दै गएको शान्ति फाउण्डेशनले जनाएको छ।

मानव बेचबिखनविरुद्धको विश्व दिवसको अवसरमा सार्वजनिक गरिएको विज्ञप्तिमा फाउण्डेशनले नेपाललाई मानव बेचबिखनको उद्‌गम, पारगमन र गन्तव्य स्थलको रूपमा औंल्याएको छ । 

बदलिँदो परिस्थितिमा पीडितहरूको उजुरी नपर्नु, सम्भावित पीडित पहिचान निर्देशिकाको अभाव, सामाजिक लाञ्छना तथा विभेद जस्ता कारणले समस्या थपिएको फाउण्डेशनको निष्कर्ष छ ।

बेचबिखनमा परेका धेरै व्यक्तिहरूले वैदेशिक रोजगारी वा ठगीका रूपमा उजुरी दर्ता गराउँदा पीडक उन्मुक्त हुने र तथ्यांक पनि न्यून रहने अवस्था रहेको फाउण्डेशनले उल्लेख गरेको छ ।

विज्ञप्तिअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा १३५ मुद्दा दर्ता भएका छन् भने ६,५०० भन्दा बढी व्यक्ति हराइरहेका छन् । मानव अधिकार आयोगको तथ्यांकले १९ लाखभन्दा बढी नेपाली बेचबिखनको जोखिममा रहेको देखाएको छ ।

आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको अवधिमा ३४५ मुद्दा दर्ता भएका छन् जसमा ४३४ जना पीडित पहिचान भएका छन् । तीमध्ये २६५ महिला, ७४ बालिका, ९३ पुरुष र २ बालक छन् । यसै अवधिमा ३१७ जना पक्राउ परेका छन् भने ५२५ प्रतिवादी फरार छन् ।

महिला र बालिकाहरू बढी जोखिममा रहेको र धेरै प्रतिवादी फरार भएकाले न्याय प्रवाहमा चुनौती थपिएको फाउण्डेशनको भनाइ छ ।

संस्थाले मानव बेचबिखन नियन्त्रणका लागि प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक २०८१ तत्काल पारित गर्न आग्रह गरिएको छ ।

साथै, नीति तथा कानूनको प्रभावकारी कार्यान्वयन, अनुसन्धान र अभियोजन संयन्त्र सुदृढीकरण, अन्तर्राष्ट्रिय समन्वय, सीमा नाकामा निगरानी प्रविधि र मानव स्रोतको परिचालन अपरिहार्य रहेको फाउण्डेशनले जनाएको छ ।

पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि विशेष बजेट तथा कार्यक्रम, चेतनामूलक अभियान, प्रदेशस्तरीय कार्य योजना र समुदायस्तरको प्रतिकार्य योजना निर्माण गर्नुपर्ने सुझाव फाउण्डेशनले दिएको छ ।

शान्ति फाउण्डेशन मानव बेचबिखन तथा एचआईभी प्रभावित महिलाद्वारा सञ्चालित संस्था हो, जसले संरक्षण, कानूनी सहयोग, नीति निर्माणमा समन्वय र सचेतना कार्यक्रममार्फत् पीडितको जीवनस्तर उकास्ने कार्य गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्