०८ साउन २०८३, शुक्रबार

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते

साउन १६, २०८२
झापा
विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते

झापाको मेचीनगर नगरपालिका– ९ स्थित खुट्टिडाँगीमा विद्यार्थी बोकेको स्कूल भ्यान दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मे १ ज ३१०७ नम्बरको पारिजात पब्लिक स्कूलको भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटना भएको भ्यान सानो भए पनि त्यसमा भरिभराउ विद्यार्थीले यात्रा गरिरहेका थिए । भ्यानले विद्यार्थी बोकेर स्कूलतर्फ लगिरहेको बेला दुर्घटना भएको थियो । दुर्घटनापछि भ्यान सडकबाट पल्टिएर खोल्सामा पुगेको थियो ।

घाइतेहरूमा छ वर्षीया सबिस्का राई, चार वर्षीया समिरा विशुङ्खे, १० वर्षीय आदित्य राई, ११ वर्षीया सदीक्षा काफ्ले, ११ वर्षीय सोहित राजवंशी, ११ वर्षीय आयान सुब्बा, ११ वर्षीय अनुराग तामाङ, १२ वर्षीया कृष्पा राई, १२ वर्षीय संयोग विशुङ्खे, १२ वर्षीया आयानी विक, ११ वर्षीय प्रनिस राई, नौ वर्षीय समर्पण राई, छ वर्षीया सुसीता किसान, छ वर्षीय तानसोना लिम्बू र नौ वर्षीय अङ्गु मगर रहेका प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा शिक्षक २४ वर्षीया प्रिती शिवा र चालक ४५ वर्षीय गणेश श्रेष्ठसमेत घाइते भएका छन् ।

सबै घाइतेहरूलाई शुरूमा उपचारका लागि मेची आम्दा अस्पताल पुर्‍याइएको थियो ।

चिकित्सकको सुझावअनुसार अधिकांश घाइतेलाई थप उपचारका लागि बिर्तामोडको बीएण्डसी टिचिङ हस्पिटलमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै धुलावारी इलाका प्रहरी कार्यालय धुलावारीबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थलमा पुगेको थियो ।

दुर्घटना भएको भ्यान प्रहरीले नियन्त्रणमा राखेको छ । भ्यानको अग्रभाग कुच्चिएको छ । घाइते सबै खतरामुक्त अवस्थामा रहेका प्रहरीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्