
नेपालमा प्रवासी नेपालीहरूको लगानी आकर्षित गर्ने र नेपालको विश्वव्यापी व्यापारिक उपस्थिति सुदृढ बनाउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल उद्योग वाणिज्य महासंघ (सीएनआई) बीच छलफल भएको छ।
एनआरएनए आइसिसी अध्यक्ष महेश कुमार श्रेष्ठ र सीएनआई उपाध्यक्ष निर्वाण चौधरीबिच भएको छलफलमा सीएनआई ग्लोबल बिजनेस एन्ड डायस्पोरा टिमका सदस्य चन्द्र टण्डन र मनोहर दाहाल पनि सहभागी थिए।
दुवै संस्थाले नीति सुधार, संयुक्त लगानी प्रवर्द्धन, र प्रवासी नेपालीहरूसँग दीर्घकालीन सहकार्य गर्ने विषयमा आपसी रुचि र प्राथमिकता व्यक्त गरेका छन्।
बैठकमा सीएनआईले डायस्पोरा तथा विश्वव्यापी व्यापार प्रवर्द्धनमा केन्द्रित कार्य सम्पादनका सर्तहरू (टीओआर) प्रस्तुत गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रणनीतिक पहलहरूबारे जानकारी गराएको थियो। उक्त कार्य योजनामा कूटनीतिक नियोग, आर्थिक परिषद् सदस्यहरू र अन्तर्राष्ट्रिय चेम्बरहरूसँग समन्वय गरी लगानी मैत्री वातावरण सिर्जना गर्ने खाका प्रस्तुत गरिएको छ।
सीएनआई उपाध्यक्ष चौधरीले नीति संवाद, मुद्दा आधारित अनुसन्धान, र प्रमुख परियोजना पहिचानमा एनआरएनसँग सहकार्य गर्न प्रस्ताव राखे। उनले भने, “नेपालको बैङ्किङ र पुँजी बजार प्रणाली सुदृढ हुँदै गएको छ। अबको आवश्यकता भनेको ठोस परियोजना, स्पष्ट नीति, र दीर्घकालीन लगानीमैत्री वातावरण निर्माण गर्नु हो।”
एनआरएनए अध्यक्ष श्रेष्ठले 'रेमिट फन्ड’ स्थापना गर्ने योजना प्रस्तुत गर्दै प्रवासी नेपाली र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूले मासिक रूपमा लगानीको रूपमा निश्चित रकम पठाउन सक्ने र यसबाट ठूला विकास परियोजनाहरूमा सहभागी हुने अवसर सिर्जना हुने बताए। उनले ठूला लगानी र साना समूहगत लगानीका लागि फरक नीतिगत संरचना आवश्यक रहेको पनि उल्लेख गरे।
अध्यक्ष श्रेष्ठले एनआरएनएले आगामी असोज २४–२५ गते (११–१२ अक्टोबर) काठमाडौँमा 'एनआरएन लगानी संवाद २०२५' आयोजना गर्न लागेको जानकारी गराउँदै सीएनआईलाई कार्यक्रमको प्रमुख साझेदार बन्न आमन्त्रण गरे। सो अवसरमा एनआरएनए लगानी मार्गचित्र २०२५–२०३० सार्वजनिक गरिनेछ भने प्रदेशगत रूपमा कम्तीमा दुई प्रमुख परियोजना प्रस्तुत गरिनेछ।
दुवै पक्षले आगामी कार्यहरूको अनुगमन र योजना बनाउनका लागि मासिक रूपमा बैठक राख्ने निर्णय पनि गरेका छन्।