०५ साउन २०८३, मंगलबार

नेपालको असाधारण सामर्थ्य अरूले बुझिसके, हामीले बुझ्न सकेका छैनौं- शंकर पोखरेल

साउन १७, २०८२
काठमाडौं
नेपालको असाधारण सामर्थ्य अरूले बुझिसके, हामीले बुझ्न सकेका छैनौं- शंकर पोखरेल

​नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल चर्चा गरिएजस्तो गरिब मुलुक नभएको बताएका छन् ।​​ ​नवयुग उद्यमशाला कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको सामर्थ्य के छ भन्ने कुरा नेपालीले बुझ्न नसकेका बताए ।

नेपालमा व्यापारको सम्भावना देखेर भारत सरकारले नेपालका सात वटा भन्सार विन्दुमा आफ्नै लगानीमा रेल ल्याउने प्रस्ताव गरेको उनले सुनाए । नेपालमा व्यापारको प्रचुर सम्झना देखेर नै भारत आफ्नो लगानी गर्न तयार रहेको पोखरेलले बताए । ‘नेपालमा असाधारण सामर्थ्य छ भन्ने अरूले बुझिसके, छिमेकीहरूले बुझिसके, हामीले हाम्रो सामर्थ्य बुझ्न सकेका छैनौं,' उनले भने ।

नेपालमा जस्तो उत्पादन गर्न सक्ने प्रकृति अरबियन मुलुकमा हुन्थ्यो भने उनीहरूले के गर्थे भन्दै उनले प्रश्न गरे । ‘हामीले हाम्रो प्रकृतिलाई उपेक्षा गरिरहेका छौं, हामी नेपालमा त सम्भावना छैन, अवसर नै छैन भनिरहेका छौं,' उनले भने ।

बाहिर जानेहरूले नेपाल चलेकै रेमिट्यान्सले हो भन्ने चर्चा गरेका भए पनि नेपाल आउने रेमिट्यान्सको अधिकांश हिस्सा नेपाल आएर काम गर्ने भारतीय कामदारले नै लैजाने गरेका पोखरेलले बताए । यथार्थमा नेपालीको श्रम र पसिना भारतीय अर्थतन्त्र निर्माणमा खर्च भइरहेको उनको भनाइ छ ।

म बनाउँछु मेरो देश भन्ने भावनाका साथ लाग्ने हो भने नेपाल बनाउन सकिने उनले बताए । ‘राज्य र नागरिकका बीचमा गहिरो अन्तरसम्बन्ध र सहकार्य हुँदैन, त्यो देश बन्दैन, देश बनाउने हो भने लोकतन्त्रमा राज्य र नागरिक बीचको सम्बन्ध जीवन्त र सकारात्मक हुनु पर्दछ,' उनले भने ।

जोखिम बहन गर्ने सामर्थ्य निर्माण नगरी देश नबन्ने पनि उनले बताए । देश बनाउन जोखिम मोलेरै काम गर्नुपर्नेमा उनले जोड दिए । परम्परागत ढाँचाले मात्र अघि बढ्दा फेरि पनि अभावकै दुष्चक्रमा फस्नु पर्ने उनको धारणा छ ।

लोकतन्त्रमा राज्य बलियो नहुँदासम्म देश र नागरिक बलिया नहुने उनले बताए । नागरिकले अधिकार खोज्ने तर कर्तव्य निर्वाह नगर्ने गर्दा राज्य बलियो हुन नसकेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्