३२ असार २०८३, बिहीबार

पाकिस्तानलाई मोदीको चेतावनी- उत्तर प्रदेशमै बनेका ब्रह्मोस क्षेप्यास्त्रले आतंककारी सिध्याउनेछ !

साउन १७, २०८२
काठमाडौं
पाकिस्तानलाई मोदीको चेतावनी- उत्तर प्रदेशमै बनेका ब्रह्मोस क्षेप्यास्त्रले आतंककारी सिध्याउनेछ !

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई कडा चेतावनी दिएका छन् । उनले अब पाकिस्तानले कुनै पनि आतंकवादी गतिविधि दोहोर्‍याएमा भारतले स्वदेशमै बनेका क्षेप्यास्त्रमार्फत् कठोर जवाफ दिने बताएका छन् ।

शनिबार उत्तर प्रदेशको वाराणसीमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले भने, ‘ब्रह्मोस क्षेप्यास्त्रहरू अब लखनउमा निर्माण हुनेछन् । यदि पाकिस्तानले फेरि कुनै पाप गर्‍यो भने, उत्तर प्रदेशमै बनेका क्षेप्यास्त्रहरूले आतंकवादीहरूलाई नष्ट गर्नेछन् ।’

प्रधानमन्त्री मोदीले भारतको रक्षा क्षमताको प्रशंसा गर्दै भने, ‘अप्रेशन सिन्दूरका क्रममा विश्वले स्वदेशी हतियारहरूको क्षमता देखेको छ । हाम्रा वायु रक्षा प्रणाली, क्षेप्यास्त्र र ड्रोनहरूले ‘आत्मनिर्भर भारत’को शक्ति प्रमाणित गरेका छन्, विशेषतः ब्रह्मोस क्षेप्यास्त्रले ।’

उनका अनुसार ब्रह्मोसको नाम मात्र सुन्दा पाकिस्तानमा भय उत्पन्न हुने गरेको छ । कार्यक्रममा प्रधानमन्त्री मोदीले उत्तर प्रदेश रक्षा कोरिडोरमा विश्वका प्रमुख रक्षा कम्पनीहरूले निर्माण संयन्त्र स्थापना गरिरहेको जानकारी पनि दिए । उनका अनुसार भारतमै निर्मित हतियारहरू चाँडै भारतीय सेनाको बल बन्नेछन् ।

विश्वको अस्थिर राजनीतिक–आर्थिक सन्दर्भमा मोदीले आत्मनिर्भरता र राष्ट्रिय एकताको आवश्यकता पनि औँल्याए । उनले भने, ‘आजको अस्थिर विश्व परिवेशमा सबै देशहरू आफ्ना स्वार्थमा केन्द्रित छन् । भारत छिट्टै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ । त्यसैले हामी आर्थिक हितमा सजग हुनुपर्छ ।’

प्रधानमन्त्री मोदीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सबै राजनीतिक दललाई आर्थिक लक्ष्यका लागि एकजुट हुन आह्वान गरे । 

उनले भने, ‘जो कोही पार्टी वा व्यक्ति भारतलाई समृद्ध बनाउन चाहन्छ, उसले स्वदेशी वस्तुहरूलाई आत्मसात गर्नुपर्छ र आपसी भिन्नता छोड्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्