
काठमाडौं, २४ मंसिर — भारत र श्रीलंकाबीचको एकदिवसीय शृंखलाको पहिलो म्याचमा भारतले खराब ब्याटिङ प्रदर्शन गरेको छ ।
नियमित क्याप्टेन विराट कोहलीविनै मैदानमा उत्रेको भारतीय टोलीले धर्मशालामा आइतवार भएको खेलमा जम्मा ११२ रन बनाउन सक्यो । टस हारेर ब्याटिङ गरेको भारतका चार ब्याट्स्म्यान शून्यमा आउट भए ।
शून्य रनमा पहिलो विकेट खसेको भारत कुनै पनि बेलामा सम्हालिन सकेन । २९ रन बनाउँदा ७ विकेट गुमाइसकेको भारतलाई विकेटकीपर तथा पूर्वकप्तान महेन्द्र सिंह धोनीले ६५ रन बनाएर लज्जास्पद स्कोर बनाउनबाट रोके ।
उनीबाहेक कुलदीप यादव र हार्दिक पाण्ड्याले मात्र दोहोरो अंकमा रन बनाउन सके ।
श्रीलंकाका लागि लक्मलले घातक बलिङ गर्दै १० ओभरमा जम्मा १३ रन दिएर ४ विकेट लिए । फर्नान्डोले २ अनि अन्य बलरले एक एक विकेट लिए ।
भारतले श्रीलंकाजत्तिकै घातक बलिङ गरे मात्र म्याचमा उसको सम्भावना रहने देखिन्छ ।