
गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को निरीक्षण गर्न पुगेका छन् ।
निरीक्षणका क्रममा उनले कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानलाई नयाँ शिराबाट अनुसन्धान थाल्न निर्देशन दिएका हुन् ।
लाजिम्पाटस्थित सीआईबीको कार्यालयमा पुगेका मन्त्री लेखकले निर्मला हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । उनले नेपाल प्रहरीभित्र सीआईबीप्रति आम जनताको भरोसा बढेको र यसलाई अटल राखेर काम गर्न निर्देशन दिएका थिए ।
सीमित स्रोत साधनका बीच सीआईबीले कार्यसम्पादनमा सफलता हासिल गरेकोमा गृहमन्त्री लेखकले प्रशंसा गरेका थिए । पछिल्लो समय वित्तीय अपराध बढेकाले त्यसको नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको उनले बताए ।
सीआईबीका एसएसपी होबिन्द्र बोगटीले सीआईबीको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुति दिएका थिए ।
बोगटीले सीआईबीले निर्मला पन्त प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको जानकारी गराएका थिए ।
लेखकलाई सीआईबीबारे जानकारी गराउन प्रहरी महानिरीक्षक दीपक थापा, सिआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सीआईबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए ।