२६ जेठ २०८३, मंगलबार

‘खण्डित’ विश्व व्यवस्थामा भारतले यसरी खेल्दैछ नेतृत्वदायी भूमिका

साउन १८, २०८२
काठमाडौं
‘खण्डित’ विश्व व्यवस्थामा भारतले यसरी खेल्दैछ नेतृत्वदायी भूमिका

अहिलेको बढ्दो भूराजनीतिक प्रतिस्पर्धाको युगमा थोरै राष्ट्रहरूले भारतले जस्तो सुविचारित सन्तुलन र आत्मविश्वासका साथ अन्तर्राष्ट्रिय व्यवस्थामा आफ्नो मार्ग तय गरिरहेका छन् ।

भारत प्रतिबन्धको दबाबदेखि व्यापार सुधारसम्म र चीनसँगको जटिल कूटनीतिदेखि कृत्रिम बौद्धिकता (एआई)मा विश्वव्यापी नियम बनाउनेसम्मको दौडमा अघि रहेको छ ।

नयाँ दिल्लीले अब केवल विश्वव्यापी प्रवाहमा प्रतिक्रिया जनाइरहेको छैन, बरू त्यसलाई परिभाषित गरिरहेको छ ।

नेटोका महासचिव मार्क रुटको यस महिनाको कडा चेतावनीले भारतको आर्थिक निर्णयहरूलाई कति नजिकबाट हेरिँदैछ भन्ने कुरालाई उजागर गरेको छ ।

वासिङ्टनमा बोल्दै रुटले रुससँग व्यापार गर्ने प्रमुख अर्थतन्त्रहरूमाथि ‘दोस्रो तहको प्रतिबन्ध’ लगाउन सकिने संकेत दिएका छन्, जसमा १०० प्रतिशतसम्मको भन्सार शुल्क समावेश हुन सक्छ । उनले यस सन्दर्भमा चीन र ब्राजिलसँगै भारतको नाम स्पष्ट रूपमा लिएका थिए ।

भारतको प्रतिक्रिया तत्काल र दृढ थियो । यसलाई ‘दोहोरो मापदण्ड’ भन्दै नयाँ दिल्लीले आफ्नो सार्वभौम अधिकार अनुसार आफ्नै सर्तमा व्यापार गर्ने कुरामा जोड दियो ।

यो केवल एक प्रतीकात्मक ‘अवज्ञा’ थिएन, बरू यो भारतको रणनीतिक स्वायत्तताको गहिरो दृढता थियो । भारत आफ्नो ऊर्जा र आर्थिक सुरक्षाको मूल्यमा पश्चिमा सुरक्षा संयन्त्रमा तानिन अस्वीकार गरिरहेको छ ।

यद्यपि, यो ‘अलगाववाद’ भने होइन । भारतले पर्दा पछाडिको कूटनीतिलाई निरन्तरता दिइरहेको छ, जहाँ टकरावपूर्ण दृष्टिकोणको सट्टा सन्तुलित उपायहरूमा जोड दिइन्छ । यो ‘भ्रम बिनाको मित्रता, बाध्यता बिनाको सहकार्य’को नीति हो ।

व्यापार कूटनीति: सुधार र पुनर्संरचना

विश्व व्यापार संगठनमा भारत-क्यामरुन मन्त्रीस्तरीय बैठक अघि नै सुधारसम्बन्धी बहसलाई चुपचाप आकार दिइरहेको छ । डब्ल्यूटीओमा सहमतिको नियमलाई खुकुलो बनाउने र औद्योगिक अनुदानको कडा छानबिन गर्ने प्रस्ताव आउने संकेत देखिएको छ । यसले विकासशील अर्थतन्त्रहरूका लागि लामो समयदेखि रहेको व्यापार सुरक्षाको परिधिलाई कमजोर पार्ने खतरा छ ।

भारतीय वार्ताकारहरूले पर्दा पछाडि बसेर यस्ता सुधारहरू विकासशील राष्ट्रहरूको विकासमा बाधा नल्याउन् भन्ने सुनिश्चित गर्न काम गरिरहेका छन् ।

यो अडानले ‘ग्लोबल साउथ’ (विकासशील विश्व)बीच भारतको नेतृत्वलाई पुनः पुष्टि गरेको छ । अत्यावश्यक सुधारमा बाधा पुर्‍याएको आरोपबाट बच्दै आफ्नो लागि अर्थपूर्ण विशेष छुटहरू सुनिश्चित गर्नु भारतका लागि एउटा मुख्य चुनौती हो ।

यसका साथसाथै नयाँ दिल्लीले संयुक्त राज्य अमेरिकासँग एक सम्भावित परिवर्तनकारी व्यापार सम्झौतालाई अन्तिम रूप दिन खोजिरहेको छ । वार्तामा उच्च-प्रविधि क्षेत्र, आपूर्ति शृङ्खला सुरक्षा र बौद्धिक सम्पत्ति जस्ता विषयहरू समावेश छन् । तर खाद्य सम्प्रभुतादेखि औद्योगिक नीतिसम्मका घरेलु संवेदनशीलताहरूले भारतको वार्ताको दायरालाई सीमित गरिरहेको छ ।

विश्व व्यापार संगठनमा दबाबको प्रतिरोध गर्ने र द्विपक्षीय सम्झौताहरू खोज्ने यो दोहोरो रणनीतिले भारतको विकसित व्यापारिक पहिचानलाई उजागर गरेको छ । भारत व्यावहारिक, सहयोगी, तर राष्ट्रिय हितमा दृढतापूर्वक अडिग छ ।

चीनसँग सम्बन्ध सुधारको प्रयास

विदेश मन्त्री एस. जयशंकरको हालैको बेइजिङ भ्रमणले दुवै देशबीचको सम्बन्धमा एक ‘सतर्क’ सुधारको संकेत गरेको छ ।

सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा, जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यीले तनाव कम गर्ने, सीमालाई सामान्य अवस्थामा फर्काउने र व्यापार प्रतिबन्धहरू सहज बनाउने विषयमा छलफल गरे ।

चीनले यस प्रयासलाई ‘कठिनाइपूर्वक प्राप्त सामान्यीकरण’ भनेको छ, जबकि भारतले महत्त्वपूर्ण आपूर्ति शृङ्खला पुनर्स्थापित गर्न र क्षेत्रीय स्थिरता कायम गर्न आवश्यक रहेकोमा जोड दिएको छ ।

यो संलग्नताले भारतको रणनीतिक सन्तुलनको अभ्यासलाई झल्काउँछ । मूल सुरक्षा चासोहरूमा सम्झौता नगरी सञ्चारको ढोका खुला राख्ने भारतको दृढ प्रतिज्ञा छ ।

एआईमा भारतको भूमिका

उच्चस्तरीय व्यापार वार्ताबाट टाढा रहेर भारतले कृत्रिम बौद्धिकता(एआई)को विश्वव्यापी मापदण्डहरूलाई आकार दिन चुपचाप नेतृत्वदायी भूमिका निभाइरहेको छ ।

युनेस्कोको नेतृत्वमा भएको २०२५ को एआई एक्सन समिटमा नयाँ दिल्लीले समावेशी र पारदर्शी एआई शासन प्रणालीको वकालत गर्‍यो र आफूलाई ग्लोबल साउथको आवाजको रूपमा स्थापित गर्‍यो ।

घरेलु रूपमा सरकारको ‘इन्डियाएआई’ मिशनले ठोस कदम चालेको छ, जसमा ‘इन्डिया एआई सेफ्टी इन्स्टिच्युट’ स्थापना गर्ने र सार्वजनिक क्षेत्रको ‘भरतजेन’ एआई मोडेल सार्वजनिक गर्ने कार्य समावेश छ ।

नैतिक एआईको केवल एक उपभोक्ता मात्र नभई एक निर्माताको रूपमा आफूलाई प्रस्तुत गरेर भारतले प्राविधिक शासनको अर्को लहरमा आफ्नो निर्णायक आवाज सुनिश्चित गरिरहेको छ ।

भारतको निर्णायक भूमिकाको क्षण

भारतको वर्तमान विश्वव्यापी अडान ती दिनहरूभन्दा धेरै फरक छ, जब उसलाई मुख्यतया एक उदीयमान बजार वा बहुपक्षीय फोरमहरूमा एक निष्क्रिय सहभागीको रूपमा हेरिन्थ्यो । आज, भारतले स्पष्ट सन्देश दिइरहेको छ - भारत विश्वव्यापी रूपमा संलग्न हुनेछ, तर आफ्नै सर्तहरूमा ।

यो दृष्टिकोण चुनौतीरहित छैन । पश्चिमा प्रतिबन्धको दबाबलाई ऊर्जा सुरक्षासँग सन्तुलनमा राख्नु, घरेलु प्राथमिकताहरूलाई कमजोर नपारी व्यापार सुधारहरू अगाडि बढाउनु र राष्ट्रिय हितको रक्षा गर्दै कूटनीतिक विश्वसनीयता कायम राख्नु—यी सबैका लागि उच्च स्तरको आन्तरिक नीति समन्वय आवश्यक पर्दछ, जसको परीक्षण आउने महिनाहरूमा हुनेछ ।

राजनीतिक विश्लेषक अक्षरा अग्रवालले वन वर्ल्ड आउटलूकका लागि लेखेको विश्लेषणको भावानुवाद

salt training

कमेन्ट गर्नुहोस्