२९ जेठ २०८३, शुक्रबार
संवैधानिक इजलास गठन विवाद

गोलाप्रथाबाटै संवैधानिक इजलास गठन गर्न सर्वोच्च बारको लबिङ, प्रधानन्यायाधीशलाई ज्ञापनपत्र

साउन १८, २०८२
काठमाडौं
गोलाप्रथाबाटै संवैधानिक इजलास गठन गर्न सर्वोच्च बारको लबिङ, प्रधानन्यायाधीशलाई ज्ञापनपत्र

संवैधानिक इजलास गठन प्रधानन्यायाधीशले तोकेका न्यायाधीशबाट गर्ने कि गोलाप्रथाबाट गर्ने भन्ने विषयलाई लिएर न्यायाधीशहरू विभाजित भएको बेला सर्वोच्च बारले गोलाबाटै इजलास तोक्न लबिङ सुरु गरेको छ । 

सर्वोच्च बारले आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई भेटगरी गोलाबाटै संवैधानिक इजलास गठनको निर्णय गर्न आग्रह गरेको हो । मेघराज पोखरेल सर्वोच्चको न्यायाधीश नियुक्त भएपछि नेतृत्वविहीन रहेको सर्वोच्च बार कार्यवाहक अध्यक्षको नेतृत्वमा प्रधानन्यायधीशलाई ज्ञापनपत्र बुझाउन गएको थियो । 

न्यायपरिषद्ले तोकेका न्यायाधीशहरूबिच गोलाप्रथा गरेर संवैधानिक इजलास गठनका लागि प्रधानन्यायाधीशको ध्यानाकर्षण गराइएको सर्वोच्च बारका सचिव रमन कर्णले लोकान्तरलाई जानकारी दिए ।

अधिवक्ता कर्णका अनुसार मुद्दा पेशीदेखि लिएर विभिन्न समसामयिक विषयवस्तुहरूमा र संवैधानिक इजलास गठनका विषयमा समेत ज्ञापन बुझाइएको हो ।

ज्ञापन पत्र बुझ्दै प्रधानन्यायाधीश राउतले यस विषयमा छलफल गरी टुङ्गोमा पुग्ने बारका पदाधिकारीहरूलाई बताएको कर्णले लोकान्तरलाई जानकारी दिए । कार्यवाहक अध्यक्ष अम्बर बहादुर राउतको नेतृत्वमा सर्वोच्च बारका पदाधिकारीहरूले प्रधान न्यायाधीशलाई ज्ञापन बुझाएको हो ।

संविधानको धारा १३७ मा प्रधानन्यायाधीशले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने व्यवस्था गरिएको छ । संविधानको मर्मविपरित गोलाबाट संवैधानिक इजलास गठन गर्ने छलफल भएकोमा न्यायिकबृत्तबाट समेत विरोध भएको छ । 

शनिबार लोकान्तर डट्कमसँग कुरा गर्दै सर्वोच्चका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले  संविधानमा प्रस्ट लेखिएको विषयमा चलन चलाएर या नियम बनाएर बदल्न नमिल्ने बताएका थिए । 

सर्वोच्च बारको अतिरिक्त सक्रियतालाई सर्वोच्च अदालतका न्यायाधीशहरूले स्वाभाविक नलिएको स्रोतले बतायो । ‘यस्तो गम्भीर विषयमा सर्वोच्च बारको अतिरिक्त सक्रियता आश्चर्यको विषय छ, संविधानको मर्म विपरीत इजलास गठन गर भनेर बारले लबिङ गर्न मिल्छ ?’ सर्वोच्च स्रोतले लोकान्तरसँग भन्यो । 

सर्वोच्च बारले उक्त ज्ञापनपत्र प्रधानन्यायाधीशलाई बुझाइसकेपछि सर्वोच्च अदालतका न्यायाधीशहरुबीच आजै अनौपचारिक कुराकानी समेत चलेको थियो । सो क्रममा सर्वोच्च बारले किन यति धेरै अतिरिक्त चासो र  सक्रियता जनायो भनेर न्यायाधीशरुबीच अनौपचारिक छलफलका क्रममा गम्भीर छलफल भएको बताइएको छ । सो क्रममा सर्वोच्चका केही न्यायाधीशहरुले यसमा केही षड्यन्त्र समेत हुनसक्ने आशंका व्यक्त गरेको स्रोतको भनाइ छ । 

सर्वोच्चको फुलकोर्टमा संवैधानिक इजलास गठन गोलाप्रथाबाट गर्नेबारे न्यायाधीशहरूबिच विवाद भएको थियो । सो विवाद बल्झिदै जाँदा बिहीबार केही न्यायाधीशहरूबिच भनाभन भएको थियो । 

पढ्नुहोस् यो पनि 

‘गोलाप्रथाबाट संवैधानिक इजलास गठनको कुराले न्यायालयमा अव्यवस्था निम्त्याउँछ, संविधान प्रतिकूल हुन्छ’

गोलाप्रथाबारे सर्वोच्चमा विवाद चर्किँदै गर्दा के भन्छन् कानून व्यवसायी ?

सर्वोच्चको पूर्ण बैठकमा न्यायाधीशहरू विभाजित, संवैधानिक इजलास गठनबारेको एजेण्डा अलपत्र

salt training

कमेन्ट गर्नुहोस्