
सार्वजनिक विद्युतीय सवारी (इभी) प्रति व्यवसायी र यात्रुको आकर्षण बढ्दो छ । सवारी सङ्ख्या मात्र बढेको छैन, यात्रुको रोजाइ पनि विद्युतीय सवारी हुन थालेको छ ।
वातावरणमैत्री र ध्वनि प्रदूषणमुक्त मात्र होइन, एक पटक लगानी गरेपछि सञ्चालनमा खासै खर्चिनु नपर्ने भएकाले व्यवसायीहरू यसतर्फ आकर्षित छन् । सामान्यतया इन्धनको बसले दैनिक पाँच हजार पाँच सय रुपियाँको तेल खर्च गर्दा विद्युतीय बस एक हजार पाँच सयबराबरको चार्जबाट चल्छ ।
पछिल्लो समय विद्युतीय बस आयातको तथ्याङ्क हेर्दा पनि लगानीकर्ता र यात्रुको आकर्षण बढेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार एक वर्षमा ३१ अर्ब ७६ करोड रुपियाँबराबरको १३ हजार ५७८ विद्युतीय सवारी आयात भएका छन् । २०८०/८१ मा ११ हजार ७०१ वटा आयात भएका थिए । विद्युतीय सवारीसाधन आयातमा निरन्तर वृद्धि भइरहनुले पनि आकर्षण बढेको देखिन्छ ।
भन्सार विभागको २०८१/८२ को तथ्याङ्क अनुसार एक वर्षमा नौ अर्ब ४८ करोड रुपियाँभन्दा बढी मूल्यका यात्रुवाहक विद्युतीय सवारी आयात भएको छ । कुल तीन हजार १३२ वटा सार्वजनिक विद्युतीय बस, मिनीबस र माइक्रोबस आयात गर्दा करिब दुई अर्ब १० करोड रुपियाँ राजस्व सङ्कलन भएको देखिन्छ । गोरखापत्रमा खबर छ ।