
न्युजिल्यान्डमा दुई वर्षीया बालिकालाई सुटकेसभित्र राखेर यात्रा गरिरहेको अवस्थामा एक महिला पक्राउ परेकी छन् ।
न्युजिल्यान्डको सानो शहर काइवाकामा यात्रारत एक महिलाको सुटकेस भित्र बालिका भेटिएकी हुन् ।
प्रहरीका अनुसार, यात्रु र बस चालकले सुटकेस हल्लिरहेको देखेपछि शंका उत्पन्न भएको थियो । त्यसपछि सुटकेस खोल्न लगाउँदा भित्र दुई वर्षीया बालिका भेटिएकी हुन्।
सुटकेस धनी २७ वर्षीया महिलालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
'बालिका अत्यधिक तातिएकी थिइन्, तर शारीरिक रूपमा कुनै चोटपटक भने लागेको देखिएन,' प्रहरी प्रहरीको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको र त्यहाँ चिकित्सकहरूले प्रारम्भिक जाँच गरिरहेको प्रहरीले जानकारी दिएको छ।
महिला र बालिकाबीचको सम्बन्धबारे हालसम्म केही खुलाइएको छैन । पक्राउ परेकी महिलालाई सोमबार नर्थ शोर जिल्ला अदालतमा उपस्थित गराइँदैछ ।
'बस चालकले असामान्य घटना देखेपछि तत्काल कदम चालेका कारण सम्भावित ठूलो दुर्घटना टार्न सकियो। उनको सतर्कता र साहसलाई हामी उच्च सम्मान गर्दछौं,' एक प्रहरीको अधिकृतको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ ।