
काठमाडौं, २४ मंसिर — उत्तर कोरियाले आणविक हतियार परीक्षण कार्यक्रमका सम्बन्धमा अमेरिकाले आफूमाथि जबर्जस्ती दबाब दिएको आरोप लगाएको छ । आणविक ब्ल्याकमेलको आरोप लगाउँदै उत्तरले अमेरिकामाथि कोरियाली प्रयाद्वीपमा तनाव बढाएको बताएको छ ।
संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञ जोफ्रे फेल्टम्यानले उत्तर कोरियाको यात्रा गरेको अवसरमा उत्तरले उनलाई आफू राष्ट्रसंघसँग कुरा गर्न तयार भएपनि अमेरिकाका कारण समस्या आइरहेको बतायो ।
उत्तरको मिडिया रिपोर्टमा किम जोङ–उनले फेल्टम्यानसँग बैठक गरेको विषयमा कुनै उल्लेख छैन ।
उत्तरले ह्वासोङ–१५ क्षेप्यास्त्र परीक्षण गरेपछि फेल्टम्यान मंगलवारदेखि उत्तर कोरियाको पाँचदिवसीय यात्रामा थिए ।
शनिवार उनी यात्रा टुंगाएर बेइजिङ फर्केका थिए ।
एजेन्सी