
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको बागलुङको काठेखोला गाउँपालिका–६ ताराखसेमा सडक अवरुद्ध हुँदा हुँदा गए रातिदेखि नै लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिरोले पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौँलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् ।
'राति पहिरोले सडक अवरुद्ध भएपछि हामीलाई फोन आएको थियो, हामीले तुरुन्तै प्रहरी टोली पठायौँ, तर सडक खुलाउन सकिएन,' उनले भने, 'अहिले पहिरो पन्छाएर सवारी आवागमन गराउन लोकमार्ग कार्यालयसँग छलफल भइरहेको छ, सडक खुल्न अझै केही समय लाग्ने देखिन्छ ।'