०४ साउन २०८३, सोमबार

भुक्तानी विवादले तीन महिनादेखि ‘घाम ताप्दै’ बेलबारीको बस

साउन २०, २०८२
विराटनगर
भुक्तानी विवादले तीन महिनादेखि ‘घाम ताप्दै’ बेलबारीको बस

मोरङको बेलबारी नगरपालिकाले खरिद गरेको विद्युतीय नगर बस सञ्चालनमा आउन सकेको छैन । बस ल्याएको तीन महिनासम्म सञ्चालनमा आउन नसकेको हो । ३ महिनादेखि बसलाई खुला आकाशमै राखिएको छ । नयाँ ल्याएको बस थन्किएपछि स्थानीयले बसले घाम तापिरहेको भन्दै व्यंग्य गर्ने गरेका छन् । 

सञ्चालनमा आउनुपर्ने बस उल्टै भुक्तानी विवादमा फसेको छ । नगरपालिकाले अनावश्यक बखेडा झिकेर अन्तिम किस्ताको ३० लाख रुपैयाँ भुक्तानी रोकेको बस आपूर्तिकर्ता कम्पनीले आरोप लगाएको छ ।  

आपूर्तिकर्ता कम्पनी नेशनल फायर सेफ प्रालिले बसको सम्पूर्ण भुक्तानी नपाएको गुनासो गरेको हो । प्रालिका संचालक खगेन्द्र कार्कीले सम्झौतामा नभएको चार्जिङ स्टेसनको विषय उठाएर नगरपालिकाले भुक्तानी रोकेको आरोप लगाए ।

नगरपालिकाले माग गरेको सबै चिज दिइसक्दा पनि भुक्तानी दिन ढिलाइ भएको उनको आरोप छ ।

नेशनल फायर सेफ प्रालिले भ्याटबाहेक १ करोड १६ लाख रुपैयाँमा १८ सिटे बस नगरपालिकालाई दिएको हो ।

कार्कीका अनुसार बस खरिद सम्झौतामा चार्जिङ स्टेसन निर्माण गर्ने केही उल्लेख थिएन । तर, अहिले चार्जिङ स्टेसनको कुरा उठाएर भुक्तानी रोकिएको छ ।

यता, प्रदेश सरकारले बेलबारीमा छुट्टै चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । तर, ट्रान्सफर्मर अभावमा चार्जिङ स्टेसन सञ्चालनमा आउन भने सकेको छैन ।

बेलबारीका नगर प्रमुख दिलप्रसाद राईले पहिलो निर्णय नै नगर बस सञ्चालन गर्ने गरेका थिए । उनको कार्यकाल आधाभन्दा बढी समय बितेको छ । नगरपालिकाले नगरवासीलाई सहज र सुलभ यातायात सेवा दिने उद्देश्यले बस खरिद गरेको बस भने सञ्चालनमा ल्याउन सकेको छैन ।

नगर बस खरिद गर्दा प्रमुख प्रशासकीय अधिकृत किरण ढकाल थिए । उनी गत जेठ २५ गते अकास भए । त्यसपछि  प्रमुख प्रशासकीय अधिकृत सञ्जयबहादुर राजलवट आए ।

आपूर्तिकताले यो विषयमा नगर प्रमुख दीलप्रसाद राईसँग पनि कुरा भएको तर, प्रमुखले प्रशासकीय अधिकृतसँग नै कुरा गर्न भनेर पन्छिने गरेको आरोप लगाएको छ ।

नगरपालिकाले भने विद्युतीय नगर बसको अन्तिम किस्ता भुक्तानी प्राविधिक स्पष्टतापछि मात्र गरिने बताएको छ । बसको स्पेसिफिकेसनमा ‘इ–बस विथ चार्जिङ स्टेसन’ भनेर उल्लेख भएपछि आपूर्तिकर्ताको जिम्मेवारीबारे अन्योल सिर्जना भएकाले भुक्तानी रोकिएको नगरपालिकाकी लेखा प्रमुख धनमाया राईले बताइन् ।

बस आपूर्तिकर्तालाई करिब ३० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको स्वीकार्दै लेखा प्रमुख राईले भनिन्, ‘बसको स्पेसिफिकेसनमा ‘इ–बस विथ चार्जिङ स्टेसन’ भनेर लेखिएकोले अन्योल सिर्जना भएको हो । यो प्राविधिक विषय भएकाले हामीले यसमा केही गर्न सक्दैनौं ।’

उनका अनुसार अघिल्ला प्रमुख प्रशासकीय अधिकृतको कार्यकालमा भुक्तानीको प्रक्रियाअघि बढे पनि अन्तिम समयमा नगरपालिकाको सर्भरमा समस्या आएकाले रोकिएको थियो । ‘पहिलो हाकिम हुँदाखेरि भुक्तानी गरिदिने भनेर प्रक्रिया अघि बढाइएको थियो, तर त्यही दिन सर्भर डाउन भएर गर्न पाइएन,’ उनले भनिन् ।

हालका प्रमुख प्रशासकीय अधिकृतले प्राविधिक विषयमा स्पष्ट नभई भुक्तानी प्रक्रिया अघि नबढाउन निर्देशन दिएको राईले जानकारी दिइन् । ‘नयाँ हाकिमले मेकानिकल इन्जिनियरलाई राखेर उहाँबाट क्लियर नभएसम्म भुक्तानी नगर्ने भन्नुभएको छ,’ उनले भनिन् ‘नबुझेको विषयमा हात नलाउनु भन्ने उहाँको निर्देशन छ ।’

लेखा प्रमुख राईका अनुसार, मेकानिकल इन्जिनियर आज वा भोलिसम्म आएर यसबारे स्पष्ट पारेपछि भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्