२३ जेठ २०८३, शनिबार
संसद्‌मा प्रश्नोत्तर

‘ग्रे लिस्ट’बाट निस्कन विस्तृत कार्ययोजना कार्यान्वयनमा गइसकेको छ– अर्थमन्त्री पौडेल

साउन २०, २०८२
काठमाडौं
‘ग्रे लिस्ट’बाट निस्कन विस्तृत कार्ययोजना कार्यान्वयनमा गइसकेको छ– अर्थमन्त्री पौडेल
फाइल फोटो

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्थाहरूको सूचीकृत ‘ग्रे लिस्ट’बाट मुलुकलाई शीघ्र मुक्त गराउने उद्देश्यले बहुआयामिक सुधार र कानूनी संरचनाहरू कार्यान्वयनमा ल्याएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको उत्तर दिने क्रममा सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) र आतङ्कवादी गतिविधिमा वित्तीय लगानी रोक्नका लागि नेपालले पछिल्लो समय महत्त्वपूर्ण प्रगति गरेको दाबी गरेका हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ग्रे लिस्टबाट बाहिर निस्कन सरकारले के तयारी गरेको छ भन्ने प्रश्न सोधेका थिए । सोही प्रश्नको जवाफ दिने क्रममा मन्त्री पौडेलले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनसहित १९ वटा विभिन्न ऐन तथा नियमावली २०८१ जारी गरी पूर्ण कार्यान्वयनमा ल्याइसकेको बताए ।

‘यससँगै एसिया प्यासिफिक ग्रुपको निर्देशनअनुसार ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन विभिन्न निर्देशिकाहरू र समन्वय संयन्त्रहरू निर्माण गरिएको छ,’ मन्त्री पौडेलले भने ।

त्यस्तै उनले बहुमूल्य धातु तथा वस्तुको कारोबार, क्यासिनो व्यवसाय, घरजग्गा कारोबार र अन्य सूचक संस्थालाई लक्षित गर्दै विभिन्न निर्देशनहरू जारी गरिएको बताए ।

‘यी निर्देशनमार्फत सन्देहजनक कारोबारको पहिचान, रिपोर्टिङ, अनुगमन र सूचना आदानप्रदान प्रणाली सुदृढ पारिएको छ,’ उनले भने ।

ग्रे लिस्टबाट बाहिरिनका लागि आवश्यक पर्ने साङ्गठनिक संयोजन सुनिश्चित गर्न सरकारले ४ वटा कार्यान्वयन संयन्त्र गठन गरेको मन्त्री पौडेलले बताए ।

‘यी संयन्त्रहरूले समन्वय, सहजीकरण, अनुगमन र निर्देशन गर्ने काम गर्छन् । यिनै संयन्त्रहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रगति प्रतिवेदन तयार पार्न पनि भूमिका खेलिरहेका छन्,’ मन्त्री पौडेलको भनाइ थियो ।

मन्त्री पौडेलका अनुसार सरकारले वित्तीय लगानीसम्बन्धी रणनीति तथा कार्ययोजना २०८१/८२ देखि २०८५/८६ सम्म तयार गरी कार्यान्वयन शुरू गरिसकेको छ ।

त्यस्तै, सरकारले ग्रे लिस्टबाट बाहिर आउन विस्तृत सुधारात्मक क्रियाकलापलाई स्वीकृति दिई कार्यान्वयनमा ल्याइसकेको छ ।

प्रतिनिधि सभामा सम्बोधनका क्रममा मन्त्री पौडेलले भने, ‘हामीले तय गरेका सबै सुधारात्मक कार्यक्रमहरू निष्पक्ष, पारदर्शी र समयमै कार्यान्वयन गर्नेछौं । निर्धारित मापदण्डअनुसार कार्य गरेकाले निर्धारित समयमै ग्रे लिस्टबाट बाहिर निस्कने पूर्ण विश्वास छ ।’

salt training

कमेन्ट गर्नुहोस्