२२ असार २०८३, सोमबार

लगातार कानूनी विवादमा तानिँदै अमेरिकी र्‍यापर सोल्जा बोय, आइलाग्यो अर्को झमेला

साउन २०, २०८२
काठमाडौं
लगातार कानूनी विवादमा तानिँदै अमेरिकी र्‍यापर सोल्जा बोय, आइलाग्यो अर्को झमेला

प्रसिद्ध हलिउड र्‍यापर तथा गीतकार सोल्जा बोयलाई अमेरिकाको लस एन्जलसस्थित वेस्ट हलिउडमा अवैध रूपमा हातहतियार राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गत साउन सोमबार बिहान करिब २:३० बजे मेलरोस एविन्यु र जेनिसी एविन्युको चोकमा ट्राफिक जाँचका क्रममा सोल्जा बोय चढेको गाडीमा उनीसँग एक जना व्यक्ति पनि सवार थिए । सो क्रममा अवैध हातहतियार फेला परेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको छ ।

लस एन्जलस प्रहरी विभागका अनुसार सोल्जा बोय पहिले नै आपराधिक रेकर्ड भएका व्यक्ति हुन्, जसले गर्दा उनीसँग हतियार राख्न पाउने कानूनी अधिकार छैन । पक्राउपछि उनलाई लस एन्जलसको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ । अहिले उनी धरौटीमा छुटे या अझै हिरासतमा छन् भन्ने स्पष्ट भएको छैन ।

यसअघि पनि उनी हतियारसम्बन्धी मुद्दामा जेल परिसकेका छन् । सन् २०१९ मा अवैध हतियार र गोलीबारुद राखेको अभियोगमा उनलाई तीन महिनाभन्दा बढी समय कारावासमा राखिएको थियो । त्यो बेला उनले परिवीक्षाका सर्त उल्लंघन गरेका थिए ।

सोल्जा बोय पछिल्लो समय यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा समेत मुछिएका छन् । उनका पूर्व सहायकले शारीरिक आक्रमण, यौन उत्पीडन, लिङ्गीय हिंसा, मानसिक यातना र पारिश्रमिक नदिएको आरोप लगाएका थिए । 

उक्त मुद्दामा अप्रिलमा क्यालिफोर्नियाको एक जूरीले सोल्जा बोयलाई दोषी ठहर गर्दै पीडितलाई ४० लाख अमेरिकी डलर क्षतिपूर्ति दिलाउने आदेश दिएका  थिए । 

उक्त फैसलाप्रति सोल्जा बोयका वकिल रिक्की इवीले आपत्ति जनाउँदै निर्णयविरुद्ध अपिल गर्ने बताएका थिए । सोल्जा बोयका प्रवक्ताले भने ती सबै आरोप अस्वीकार गर्दै ‘उनी कहिल्यै महिलामाथि हिंस्रक व्यवहार गर्ने व्यक्ति होइनन्’ भन्ने दाबी गरेका छन् ।

‘टर्न माई स्व्याग अन’ जस्ता चर्चित गीतका लागि परिचित सोल्जा बोय पछिल्लो समय लगातार कानूनी विवादमा तानिँदै आएका छन् । उनको पछिल्लो गिरफ्तारीले फेरि एकपटक उनीमाथि मिडिया र फ्यानको ध्यान खिचेको छ । सबै जना अब यो घटनाले कुन कानूनी दिशा लिन्छ भन्ने प्रतीक्षामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्