
भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा बाढीले ठूलो जनधनको क्षति गरेको छ ।
घटनामा चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अझै पनि कयौं मानिसहरू लेदोमुनि पुरिएको आशंका गरिएको छ ।
मंगलबार आरिघोप्टे वर्षापछि खोलामा एक्कासी ठूलो बाढी आएको थियो । बाढी गाउँतिर पस्नेबित्तिकै स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको थियो । बाढीले धराली बजार पूर्ण रूपमा तहस-नहस बनाएको छ भने धेरै होटल र पसलहरू ध्वस्त भएका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले एसडीआरएफ, एनडीआरएफ, जिल्ला प्रशासन र अन्य निकायहरूलाई राहत तथा उद्धारमा युद्धस्तरमा खटिन निर्देशन दिएका छन् । मुख्यमन्त्री धामीले आफू सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।

धराली घटनासँगै मंगलबार बिहान उत्तरकाशीको बडकोट तहसील अन्तर्गत बनालपट्टी क्षेत्रमा पनि भारी वर्षा भएको छ । त्यहाँको कुड गदेरोमा आएको बाढीले करिब डेढ दर्जन बाख्रा बगाएको बताइएको छ ।
यस्तै, यमुनोत्री राजमार्गको स्यानाचट्टी नजिकै झन्डै २५ मिटर सडक भासिएको छ । उक्त क्षेत्रबाट ठूलो चट्टान खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ । गंगोत्री राजमार्ग पनि डबरानी, नाग मन्दिर र नेतालामा मलबा आउँदा केही घण्टा बन्द भएको थियो । हाल उक्त मार्ग सञ्चालनमा ल्याइएको छ।
मौसम विभागका अनुसार आउँदो १० अगस्टसम्म पहाडी क्षेत्रमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । सम्भावित जोखिमबाट बच्न देहरादून, टिहरी, पौडी र हरिद्वार जिल्लाका विद्यालय बन्द गरिएको छ ।