
शिक्षक महासंघले सहमतिका लागि दिएको समय सीमा सकिँदै गर्दा विद्यालय शिक्षा विधेयक टुंगाउन दलहरू छलफलमा जुटेका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विधेयकमा सहमति जुटाउन दलहरू छलफलमा जुटेका हुन् ।
समितिमा रहेका सदस्यहरूबीच मंगलवार पनि छलफल भएको थियो । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सहमति जुट्न नसकेका बुँदामा आज साँझसम्म सहमति कायम गरिने बताए ।
अस्थायी प्रकृतिका शिक्षकलाई स्थायी गर्दा कूल दरबन्दीको ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट गर्ने प्रावधानसहित विधेयकमा सहमतिको प्रयास भइरहेको समिति स्रोतले बतायो ।
शिक्षकहरूले आन्तरिक प्रतिस्पर्धाको कोटा ७५ प्रतिशत बनाउन दबाब सृजना गरे पनि समितिमा सहमति जुट्न नसकेको हो ।
यसअघि असार २२ गते नै विधेयक पारित गर्ने तयारी भए पनि सरकारले समय माग गरेका कारण रोकिएको थियो । शिक्षा मन्त्री रघुजी पन्तले समय माग गरेपछि समितिले अन्तिम पटकका लागि भन्दै ५ दिनको समय दिएको थियो ।
सरकार र शिक्षक महासंघका प्रतिनिधिबीच सहमति जुट्न नसकेपछि समितिले विद्यालय शिक्षा विधेयकलाई पेन्डिङमा राखेर मिडिया काउन्सिल विधेयकमा छलफल शुरू गरेको छ ।
चैत्र महिनामा राजधानी केन्द्रीय आन्दोलन गरेका शिक्षकका माग सम्बोधन गर्न सरकारले विद्यालय शिक्षा विधेयक अविलम्ब पारित गर्ने प्रतिवद्धता जनाएको थियो । संसद्को चालु बजेट अधिवेशनमै विधेयक पारित गर्नेगरी तयारी भएको संसद् सचिवालय स्रोतले बतायो ।
शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक पारित गर्न साउन २१ सम्मको अल्टिमेटम दिएको थियो ।