
नेपाली कांग्रेस रोल्पाले माओवादीपीडित र द्वन्द्व पीडितको नाममा पार्टीको नक्कली लेटरप्याड दुरुपयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेस रोल्पाका सभापति किशोरकुमार आयार्यले बुधवार विज्ञप्ति जारी गरी जिल्ला र अन्य कार्यसमितिको नक्कली लेटरहेड, छाप र हस्ताक्षर प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
कानून विपरीतका कार्य भइरहेको भन्दै कांग्रेस सभापतिले नेपालस्थित सम्बन्धित दूतावासमार्फत् कूटनीतिक पहल गरी आवश्यक प्रक्रिया अगाडि बनाउन पार्टीको ध्यानाकर्षण गराएका छन् ।
विदेशस्थित जनसम्पर्क समिति र सम्वद्ध संस्थासँग पनि कांग्रेसले सहयोग मागेको छ । ‘नेपाली कांग्रेस जिल्ला जिल्ला कार्यसमिति रोल्पा र अन्य तहहरू समेतको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोगगरी विभिन्न व्यक्तिहरूले आफू कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई नेपाली कांग्रेसको हरेक गतिविधिहरूमा सक्रिय भएको कारण द्वन्द्व प्रभावित भएको, माओवादी पार्टीका कार्यकर्ताले दुःख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकि जीवनरक्षाका लागि विदेश (अमेरिका लगायतका) देशमा आउनुपरेको भनि गलत सिफारिस बनाई सम्बन्धित देशमा पेस गरेको, गर्ने प्रक्रियामा रहेको बुझिएकाले सो सम्बन्धमा नेपाली कांग्रेस रोल्पाको गम्भिर ध्यानाकर्षण भएको छ,’ आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस प्रकारका गलत, भ्रामक र कानुन विपरीतका कार्यहरूको बारेमा सम्बन्धीत देश (विदेश) मा रहेका पार्टी जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरि सत्यतथ्य पत्ता लगाई सो सम्बन्धमा सबै देशका नेपाल स्थित राजदुतावास समेतमा पार्टिको तर्फबाट कुटनीतिक पहल गरी आवश्यक प्रकृया अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्ति मार्फत सूचित गराइएको छ ।’
