
झापाको झापा गाउँपालिका–१ लसुनामा मादक पदार्थ सेवन गरेका ६० वर्षीय एक पुरुषको रुखमा बाँधिएको अवस्थामा शव फेला परेको छ । घटनामा संलग्न भएको आरोपमा मृतकका छोरासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बुधबार बिहान करिब ४ बजे ६० वर्षीय जतन सोरेन आफ्नै छिमेकी महादेव टुडुको घर छेउमा रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधिएको अवस्थामा मृत फेला परेका थिए ।
मंगलबार राति करिब साढे १० बजे मादक पदार्थ सेवन गरी काम्न थालेपछि छिमेकी र परिवारका सदस्यले उनलाई रुखमा बाँधेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको झापा प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले अनुसन्धान शुरू गरेको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा मृतकका २७ वर्षीय छोरा अनतलाल सोरेन, ५० वर्षीय छिमेकी महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिप्रकाको हिरासतमा राखिएको छ । घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि पठाइएको र रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ ।