
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध र अन्याय भयो भनेर रास्वपाले गरिरहेको हस्ताक्षर अभियानबारे प्रश्न गरेका छन् । धरौटीमा रिहा हुँदा न्याय मिल्यो भन्ने र थुनामा पठाउँदा प्रतिशोध भन्ने रास्वपाको द्वैध चरित्र भएको उनले बताए ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा महामन्त्री शर्माले हिजो टेलिभिजनमार्फत ‘अदालतको आदेश नमान्ने तिम्रा बाउको शासन हो ?’ भनेर लामिछानेले दिएको अभिव्यक्ति संसद्मा स्मरण गरेका हुन् ।
‘एउटा अदालत होइन, कास्की, चितवन, काठमाडौं, रुपन्देही कुनै पनि अदालतले कसुर नगरेको भन्न सकिने अवस्था छैन भनेको छ । तिम्रा मित्र छविलाई भित्र तिमीलाई बाहिर भन्न सकिएन भनेको छ,’ शर्माले भने, ‘धरौटीमा छुट्दा न्याय मिल्यो भन्नेले थुनामा पठाउँदा प्रतिशोध भन्न मिल्छ ?’
शर्माले स्वतन्त्र न्यायालयबारे रास्वपाको धारणा माग गरे । ‘लामिछाने टीभी प्रस्तोता हुँदा भन्नु भएको सम्झिन्छु– कसैको अदालतको आदेश मान्दिनँ रे ? तिम्रो पिताजीको शासन हो ?,’ शर्माले रास्वपाको हस्ताक्षर अभियानप्रति लक्षित गर्दै टिप्पणी गरे, ‘त्यसरी हस्ताक्षरमार्फत कसलाई दबाब दिन खोजेको ? क्याम्पस, अस्पताल कि अदालतलाई ?’
रास्वपाका सांसदहरू लामिछानेको निर्देशनका कारण कैदीजस्तो बनेको उनले टिप्पणी गरे । ‘आज सभापति जेलमा हुनुहुन्छ, रास्वपाका साथीहरू जेलको कैदीजस्तै आदेश मान्न विवश हुनुहुन्छ,’ शर्माले भने ।