०४ असार २०८३, बिहीबार

काठमाडौं उपत्यकासहित ४१ स्थानमा सशस्त्र प्रहरीको मनसुन प्रतिकार्य अस्थायी बेस

साउन २१, २०८२
काठमाडौं
काठमाडौं उपत्यकासहित ४१ स्थानमा सशस्त्र प्रहरीको मनसुन प्रतिकार्य अस्थायी बेस

मनसुन शुरू भएदेखि सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकासहित देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ । 

काठमाडौं उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको हो ।

त्यसैगरी, कोशी प्रदेश अन्तर्गत मोरङको बखरी र ओखलढुंगाको हर्कपुर, मधेश प्रदेशस्थित सप्तरीको भारदह र बर्साइन, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरीया, बागमती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मंगलटार, नुवाकोटको खरानिटार, चितवनको भालढुंगा, दोलखाको लिङ्कन बजार र सिगंटी तथा रसुवाको तातेपानीमा बेस स्थापना गरिएको छ ।

त्यस्तै, गण्डकी प्रदेश अन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पूर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूपश्चिम प्रदेशस्थित कैलालीको खानी डाँडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

आपत् विपद्‌मा परेका आम नागरिकको उद्धार कार्यमा सहज होस् भन्ने अभिप्रायकासाथ सशस्त्र प्रहरी बल नेपालले वर्षाको कारण जोखिमयुक्त क्षेत्रको पहिचान गरी उक्त बेसमा विपद् उद्धार सामाग्रीसहितको सुरक्षा फौज तयारी हालतमा राखेको छ । 

यसअघि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्त्वपूर्ण भूमिका रहने भएकोले देशभरि १ लाख ६८ हजार ९ सय ५६ जना विपद् सूचक तयार गरेको छ ।

आपत् विपद्‌मा परेका नागरिकको उद्धार तथा सहयोगमा सुरक्षाकर्मीसहित कसरी परिचालन हुने तथा खबर आदानप्रदान कस्तो अवस्थामा गर्ने  भन्नेबारे जानकारी गराइएको छ ।

त्यसैगरी देशभर ९ सय ९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम दिइएको छ सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । जसअन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थले १ सय ८०, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले ९४, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले २ सय २७, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५०, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले १ सय ४३, नं. ५ विन्ध्याबासनी बाहिनी मुख्यालय रुपन्देहीले २५, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतले ७३, नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले १ सय २ र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले ९६ जनालाई विपद् स्वयंसेवक तालिम दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्