
मोरङको कटहरी गाउँपालिकाका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन् । कटहरी गाउँपालिका-३ कटहरी चोकमा बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म स्थानीयले सडकमा धान रोपेर विरोध गरेका हुन् ।
तीन वर्षमा बनिसक्नुपर्ने सडकको काम ६ वर्ष हुँदा पनि नसकिएपछि स्थानीयले विरोध जनाएका हुन् ।
घाम लाग्दा धुलो र पानी पर्दा हिलोले सडकमा हिँड्न नसकिने भएपछि विरोध स्वरूप सडकमै धान रोपेको कटहरी-३ की लक्ष्मीदेवी साहले बताइन्। धान रोपिएको सडक भने हुलाकी राजमार्ग हो ।
कटहरीको सिंघिया खोलादेखि नयाँबजार अगाडि जुडीखोलासम्मको ६ किलोमिटर सडक खण्डमा हाल २७ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
२०७६ कात्तिक २४ गते तीन वर्षमा सम्पन्न गर्नेगरी श्रेष्ठ कन्स्ट्रक्सनले ७६ करोड रुपैयाँमा ठेक्का पाएको थियो । सम्झौताअनुसार २०७९ कार्तिक २३ गतेसम्म काम सक्नु पर्ने थियो ।
तोकिएको म्यादमा काम सम्पन्न हुन नसकेपछि दोस्रोपटक म्याद थप गरेर २०८२ जेठ मसान्तसम्म निर्धारण गरिएको थियो । काम भने अझै सकिएको छैन ।
कन्स्ट्रक्सनले काम पूरा गर्न नसकेपछि ६ महिनाअघि कांग्रेसका नेता अभिषेक गिरीलाई पेटी ठेक्का दिएको छ । तर, अझै काम भने सकिएको छैन ।