
निर्वाचन आयोगले ल्याउन लागेको राजनीतिक दलको ‘स्वमूल्यांकन कार्यविधि’प्रति सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि असहमति जनाएको छ ।
एमालेको निर्वाचन विभागका प्रमुख निरज आचार्यले स्वमूल्यांकन राजनीतिक दलहरूको आन्तरिक मामिला रहेको उल्लेख गर्दै आयोगको कदमप्रति असहमति जनाएका हुन् ।
‘नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनैतिक दलसम्बन्धी व्यवस्था छ’, आचार्यले भनेका छन्, ‘राजनैतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था राजनैतिक दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो ।’
यसअघि बुधबार कांग्रेस-एमाले बाहेकका दलले आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा आपत्ति जनाएका थिए । सत्तारूढ एमाले-कांग्रेसकै सहमतिमा आयोगले कार्यविधि ल्याउन लागेको उनीहरूको आरोप थियो ।
तर, त्यसको भोलिपल्ट एमालेले समेत आफ्नो धारणा सार्वजनिक गर्दै कार्यविधिमा आफूहरूको असहमति रहेको उल्लेख गरेको हो । ‘सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति नेकपा (एमाले)को असहमति रहेको छ’, विभाग प्रमुख आचार्यले भनेका छन् ।
आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने बिहीबार अन्तिम दिन हो । आयोगले यही साउन ८ गते ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ प्रकाशन गरेर सुझाव मागेको थियो ।