
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेका छन् । टेलिफोन कुराकानीका क्रममा रुसी राष्ट्रपति पुटिनले युक्रेनसँग सम्बन्धित हालैका घटनाक्रमहरूबारे मोदीलाई अवगत गराएका थिए । प्रधानमन्त्रीले द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि भारतको दृढ अडान दोहोर्याएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुई नेताहरूले भारत-रूस विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको समाचारमा उल्लेख छ । मोदीले पुटिनलाई यस वर्षको अन्त्यमा २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनको लागि भारत भ्रमण गर्न आमन्त्रित गरेका छन्।
'मेरो साथी राष्ट्रपति पुटिनसँग मेरो धेरै राम्रो र विस्तृत कुराकानी भयो। मैले युक्रेनको पछिल्लो विकासक्रम साझा गरेकोमा उहाँलाई धन्यवाद दिएँ। हामीले हाम्रो द्विपक्षीय एजेन्डामा भएको प्रगतिको पनि समीक्षा गर्यौं र भारत-रूस विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने हाम्रो प्रतिबद्धता दोहोर्यायौं,' मोदीले एक्समा लेखेका छन्, 'म यस वर्षको अन्त्यमा भारतमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न तत्पर छु।'
मोदी-पुटिन कुराकानी अमेरिकाले भारतबाट आयात हुने सामानमा ५० प्रतिशत कर लगाएपछि भएको हो । यस्तो अवस्थामा ब्रिक्स देशहरू एकअर्काको नजिक आउँदै गरेको देखिन्छ। एससीओ शिखर सम्मेलनको लागि प्रधानमन्त्री मोदी चीन जाने चर्चा पनि छ । पुटिन पनि भारत आउने भएका छन् । यद्यपि, भारत र अमेरिकाबीच व्यापार सम्झौतामा अझै पनि वार्ता भइरहेको छ ।