
चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि आज (शनिबार) खेलाडीको अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सन दिउँसो ३ बजेदेखि शुरू हुनेछ । अक्सनको प्रत्यक्ष प्रसारण नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलबाट गरिनेछ ।
अक्सनबाट विभिन्न आठ टोलीले बाँकी रहेका ३७ खेलाडी अनुबन्ध गर्नेछन् । यसअघि नै आठ टोलीले गत सिजनका आफ्ना ५१ खेलाडीलाई रिटेन गरिसकेका छन् ।
क्यानले दिएको समयभित्र कूल चार सय ५८ जना खेलाडीले अक्सनमा सहभागी हुने चाहनासहित आफ्नो नाम दर्ता गराएका थिए । त्यसमध्येबाट क्यानको प्राविधिक समितिले आफ्नो मापदण्डभित्र परेका १५० जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।
आज हुने अक्सनमा १५० जना खेलाडीमात्र सहभागी हुनेछन् । त्यसमध्ये आठजना खेलाडी ‘ए’ श्रेणीमा परेका छन् । क्यानका अनुसार ३५ जना खेलाडी ‘बी’ श्रेणीमा र १०७ जना खेलाडी ‘सी’ श्रेणीमा परेका छन् ।
‘ए’ श्रेणीमा पर्ने खेलाडी सुदूरपश्चिम प्रदेशका अर्जुन साउद, सोही प्रदेशका दिलीप नाथ, लुम्बिनी प्रदेशका देव खनाल, मधेश प्रदेशका पवन सर्राफ, बागमती प्रदेशका शरद भेषावकर, मधेश प्रदेशका मोहमद आदिल आलम, बागमती प्रदेशका सूर्य तामाङ र सोही प्रदेशका सुनाम गौतम हुन् ।
अर्जुन दायाँहाते ब्याट्सम्यान र दिलीप बायाँहाते ब्याट्सम्यान हुन् । यी दुवै ब्याट्सम्यानले टोलीलाई आवश्यक पर्दा विकेटकिपरको भूमिका पनि निर्वाह गर्छन् । देव दायाँहाते ब्याट्सम्यान हुन् भने पवन अलराउन्डर खेलाडी हुन् ।
शरद र मोहमद आदिल आलम पनि अलराउन्डर हुन् । सूर्य बायाँहाते बलर हुन् भने सुनाम अलराउन्डर खेलाडी हुन् ।
यसैगरी, आकाश त्रिपाठी, आशुतोष घिरैया, अनिल खरेल, अर्जुन कुमाल, अभिनाष कर्ण, वसन्त खत्री, भुवन कार्की, विपिन रावल, दर्शन सोनार, दीपक बोहरा, दीपेश श्रेष्ठ, दुर्गेश गुप्ता, हरिशंकर साह र हेमन्त धामी ‘बी’ श्रेणीमा परेका छन् ।
आकाश, आशुतोष, अर्जुन, विपिन र दीपक ब्याट्सम्यान हुन् । अनिल, अभिनाष, भुवन, दीपेश, दुर्गेश र हेमन्त भने बलर हुन् । हरिशंकर, दर्शन र वसन्त अलराउन्डर खेलाडी हुन् । अर्जुन, विपिन र दीपक भने विकेटकिपर पनि हुन् ।
ब्याट्सम्यान खड्कबहादुर बोहरा, अलराउन्डर कृष्ण कार्की, बलर मौसम ढकाल, ब्याट्सम्यान मयान यादव, अलराउन्डर मिलन बोहरा, अलराउन्डर नारायण जोशी, ब्याट्सम्यान प्रदीप ऐरी र ब्याट्सम्यान प्रज्ज्वल थापा पनि श्रेणी ‘बी’ मा परेका छन् ।
श्रेणी ‘बी’ मा पर्ने अन्य खेलाडी ब्याट्सम्यानहरू पृथु बास्कोटा, रविन्द्रजङ्ग शाही, रवीकुमार साह, रित गौतम, साहिल पटेल र सन्तोष कार्की हुन् ।
अलराउन्डर सन्तोष यादव, ब्याट्सम्यान शंकर राना, बलर शेर मल्ल, ब्याट्सम्यान सुमित महर्जन, बलर युवराज खत्री, अलराउन्डर विशालविक्रम केसी र अलराउन्डर निखिलकुमार सिंह पनि ‘बी’ श्रेणीमा परेका छन् ।
यसैगरी, अभय यादव, अभिषेक तिवारी, अभिषेक पाल, अजय चौहान, अमर मिश्र, अरनिको यादव, भोजराज भट्ट, भुपाल लुइटेल, दयानन्द मण्डल, दीपकप्रसाद डुम्रे, दिल बोहरा, दिवान पुन, कृजन गुरुङ र लवकुमार कामत ‘सी’ श्रेणीमा परेका छन् ।
नविन तामाङ, नविन यादव, निर्मल गुरुङ, निश्चल क्षेत्री, ओमकार यादव, परिमार्जन यादव, प्रदीप पासवान, प्रकाश बिष्ट, प्रसिद्ध जैसी, प्रेम कामत, पुरण विक, रविन जोशी, राजप्रसाद शाह, राजेन्द्र बम र राजेश यादव पनि ‘सी’ श्रेणीमा रहेका छन् ।
यसैगरी, राजु रिजाल, रमेश कुर्मी, रञ्जित कुमार, रौनक श्रीवास्तव, रोहित चन्द, रोज श्रेष्ठ, रोशन विश्वकर्मा, सचिन शर्मा, सचिन लेखक, सचिन भट्ट, समिर बिष्ट, समिक कँडेल, सम्राट भुसाल, सन्दीप बहादुर रजाली र सन्दीप खत्री क्षेत्री पनि श्रेणी ‘सी’मै परेका छन् ।
शिवम तिवारी, शिवांश बजगाईं, श्रवण किस्कु, श्रवण यादव, सोहेल कुँवर, सोनु देवकोटा, शुभम खनाल, सुदीप अर्याल, सुजन थपलिया, सुनिल गौतम, सूर्यान्शु कोइराला, सायमन रोय, टेकबहादुर रावत र उत्तम रंगु थापामगर पनि ‘सी’ श्रेणीमा रहेका छन् ।
यसैगरी, आदिल खान, आदित्य महता, आकिल खान, आरिफ खान, आशुतोष पाण्डे, अफरुद्दिन राइन, अमन गोयल, अमित श्रेष्ठ, अंकित सुवेदी, अनुज कुमार चनरा, अपराजित पौडेल, अविनाष कर्ण, अयुव चन्द र वसन्तसिंह कार्की पनि श्रेणी ‘सी’ मा छन् ।
क्यानका अनुसार, श्रेणी ‘सी’ रहेका अन्य खेलाडी भुलन साहनी, विवेककुमार रानामगर, विपिन न्यौपाने, विपिन आचार्य, विपिनकुमार महतो, विप्रसन केसी, विशाल पटेल, विशाल सुसलिङ, ब्रिजेश पाण्डे, चन्द्रकान्त पौडेल, सिबरिन श्रेष्ठ र दर्शिल बिष्ट हुन् ।
यसैगरी, दिपेश दास, फिर्दोष अन्सारी, गजेन्द्र बोहरा, हिमांशु दत्त, इमरान सेख, ईश्वर क्षेत्री, कमल गुप्ता, कमल परियार, कृष्ण पौडेल, मोहम्मद हुसेन गद्दी, मृनाल गुरुङ, प्रकाश पाण्डे, सुनिल दौलयाल, जोय थापा, करण केवात, दीपेन्द्र थापा, विक्रम खड्का, निरजकुमार यादव, विशेष बुढाथोकी, तुलबहादुर थापा, सकिब हक, अमृत गुरुङ र अशोक धामी पनि श्रेणी ‘सी’ मा परेका छन् ।
शनिबार हुने अक्सनमा एनपीएलमा सहभागी आठवटा टोलीले खेलाडीमाथि बोली लगाउने छन् । श्रेणी ‘ए’ मा चार खेलाडी आवश्यक पर्नेछ । श्रेणी ‘बी’ बाट २३ जना खेलाडीको खरिद–बिक्री हुनेछ । दोस्रो चरणको अक्सनमा श्रेणी ‘बी’ मा रहेका कुनै खेलाडीलाई कुनै पनि टोलीले बोली नलगाएमा ती खेलाडी समूह ‘सी’मा झर्नेछन् ।
त्यसैले यस्ता खेलाडीमाथि ‘सी’ श्रेणीमा पनि बोली लगाउन मिल्नेछ । श्रेणी ‘सी’ मा भने १० खेलाडी खरिद–बिक्री हुनेछन् । श्रेणी ‘ए’ मा रहेका खेलाडीहरुको न्युनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रूपैयाँ तोकिएको छ ।
यसैगरी ‘बी’ श्रेणीमा रहेका खेलाडी न्युनतम मूल्य पाँच लाख र अधिकतम मूल्य १० लाख रूपैयाँ तोकिएको छ । श्रेणी ‘सी’ मा रहेका खेलाडीको लागि भने न्युनतम मूल्य दुई लाख र अधिकतम मूल्य पाँच लाख रूपैयाँ निर्धारण गरिएको छ ।