
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको कोठामा २ वटा फ्यान रहेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले बताएको छ ।
सदस्य लीली थापाको नेतृत्वमा गएको आयोगलको टोलीले भैरहवा कारागार र लामिछानेलाई राखिएको कोठाको अवलोकन गरेको थियो । अवलोकनपछि सदस्य थापाले लामिछानेको कोठामा २ वटा फ्यान (पंखा) रहेको बताएकी हुन् ।
‘रवीजीको कोठामा पनि हामीले हेर्यौं, २ वटा फ्यान राखिएको छ । सुरक्षाका कारण झ्याल लगाइएको रहेछ । प्रशासनले त्यो खोलिदिने बताएको छ’, थापाले भनिन् । खानामा कुनै समस्या नरहेको लामिछानेले बताएको पनि उनले जानकारी दिइन् ।
कारागारमा न्यूनतम् सुविधा पनि उपलब्ध नभएको भन्ने चर्चा चलेपछि आयोगले भैरहवा कारागारको अवलोकन गरेको थियो । आयोगकी सदस्य थापाले कारागारमा देखिएको समस्याबारे काठमाडौं फर्केर कारागार व्यवस्थापन विभागसँग कुरा गर्ने बताइन् ।