
दक्षिण चीन सागरमा फिलिपिन्सको तटरक्षक जहाजलाई पछ्याउँदै गर्दा चीनको युद्धपोत सोमबार आफ्नै तटरक्षक जहाजसँग ठोक्किएको छ ।
फिलिपिन्स तटरक्षक अधिकारीहरू विवादित स्कारबोरो शोअलमा माछा मार्ने मजदुरलाई सहायता वितरण गर्दै गर्दा चीनको तटरक्षकले ‘जोखिमपूर्ण चाल’ अपनाएको फिलिपिन्सक अधिकारीहरूले बताएका छन् । उक्त घटनामा चीनको युद्धपोतको अगाडिको डेकमा ठूलो क्षति पुगेको उनले जनाए ।
चीनले भने घटना भएको स्वीकार गर्दै फिलिपिन्सलाई आफ्नो समुद्री क्षेत्रमा ‘बलपूर्वक प्रवेश’ गरेको आरोप लगाएको छ तर ठोक्किएकोबारे केही उल्लेख नगरेको बीबीसीले जनाएको छ ।
दक्षिण चीन सागरमा चीन, फिलिपिन्सलगायतका मुलुकबीच समुद्री क्षेत्रको स्वामित्व विवाद चलिआएको छ । पछिल्ला वर्षमा बेइजिङ र मनीलाबीच तनाव तीव्र हुँदै गएको छ ।
दुवै पक्षले समुद्रमा उग्र गतिविधि र आक्रमणका घटनामा एकअर्कामाथि आरोप लगाउँदै आएका छन्, जसमा तरबार, भाला र छुरा जस्ता हतियारको प्रयोगसमेत भएको छ ।
स्कारबोरो शोअल त्रिकोण आकारको चट्टान र रीफको शृङ्खला हो, जसलाई चीनले २०१२ मा नियन्त्रणमा लिएपछि दुवै देशबीच विवादको केन्द्र बनेको हो ।
फिलिपिन्सले सार्वजनिक गरेको भिडियोमा देखिएअनुसार, फिलिपिन्सको तटरक्षक जहाजलाई पछ्याउँदै गरेको चीनको तटरक्षकले पानीको फोहोरा प्रहार गरेको थियो । त्यसपछि अचानक मोडिँदा उक्त जहाज ठूलो आकारको आफ्नै युद्धपोतमा ठोक्किएको देखिन्छ ।
घटनामा कसैलाई चोटपटक लागेको वा नलागेको खुलाइएको छैन ।
फिलिपिन्स तटरक्षकले चीनलाई अन्तर्राष्ट्रिय सन्धिको सम्मान गर्न र समुद्री कानून कार्यान्वयनका क्रममा सावधानी अपनाउन निरन्तर आग्रह गर्दै आएको जनाएको छ । समुद्रमा यस्ता लापरबाहीका कारण दुर्घटना हुन सक्ने चेतावनी पनि दिएको छ ।
तर, चीनको तटरक्षकले भने आफ्नो कदम ‘कानूनअनुसार’ भएको र फिलिपिन्सका जहाजलाई हटाउन ‘आवश्यक सबै उपाय’ अपनाइएको दाबी गरेको छ।
यो घटना पछिल्ला दुई वर्षयता बेइजिङ र मनीलाबीच विवादित क्षेत्रको नियन्त्रणका लागि भएका जोखिमपूर्ण घटनामध्ये एक हो ।
गत वर्ष डिसेम्बरमा पनि चीनको तटरक्षकले स्कारबोरो शोअल नजिकै पानीको फोहोरा प्रहार गर्नुका साथै फिलिपिन्सको सरकारी जहाजलाई अड्डी ठोकेको फिलिपिन्सले आरोप लगाएको थियो ।