
संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा सभामुख देवराज घिमिरेले चासो देखाएका छन् ।
उनले यस विषयमा सिंहदरबारस्थित कार्यकक्षमा सोमबार अलग-अलग छलफल गरेका छन् । सभामुख घिमिरेले सत्तारुढ एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्य व्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने बताएका थिए । कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको बताउँदै सभामुख घिमिरेले दलहरूलाई साझा धारणा बनाउन आग्रह गरे ।
राज्य व्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवका रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको बताउँदै समितिको काम अब धेरै समय रोक्न नसकिने सभामुखले उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।
छलफलमा नेताहरूले प्रमुख दलको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिएका छन् ।
सभामुखले गएको शुक्रबार सचिवालयका कानून सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्य व्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गरेका थिए ।
सभामुखले मंगलबार पनि अलग-अलग सुझाव लिने काम सकिएपछि संयुक्त बैठक गर्ने तयारी गरेका छन् । सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे प्रमुख सचेतकहरूसँग संयुक्त बैठक आह्वान गरेका छन् ।