३१ जेठ २०८३, आइतबार

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

साउन २६, २०८२
कैलाली
कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव परिवारले बुझेका छन् । 

प्रमुख जिल्ला अधिकारीबाट मृतकका परिवारले राखेका माग सुनुवाइ गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतापछि सोमबार मृतकका परिवारले शव उठाएका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

उनले भने, ‘मृतक परिवारका केही माग प्रदेश सरकारले सम्बोधन गर्ने भनिसकेको छ । मृतकका बच्चालाई निःशुल्क पढाउनुपर्ने मागबारे प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायमा कुरा गर्ने भनेपछि उहाँहरू सहमत हुनुभयो ।’

दोषीमाथि कारबाही गर्नुपर्ने र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका परिवारले सोमबार बिहानसम्म शव बुझ्न मानेका थिएनन् । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार साँझ मृतक चौधरीका परिवारलाई पाँच लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

कैदीबन्दीबीच बन्दीगृहमा शुक्रबार राति भएको झडपपछि घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनामा घाइते भएका अन्य ४५ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते कर्ण सलामीमगर र आयुस भट्टको काठमाडौंमा उपचार भइरहेको छ ।  

धनगढीमा उपचाररत अर्का घाइते कल्पेस विष्टलाई थप उपचारका लागि सोमबार काठमाडौं सिफारिस गरिएको कारागार शाखाका जालान्दर भुसालले जानकारी दिए । घटनापछि कारागार व्यवस्था विभागले भुसाललाई केही समयका लागि दुई दिनअघि कैलाली कारागारमा खटाएको छ । 

यहाँ घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । कारागारको अवस्था सामान्य बन्दै गएको समितिका सदस्य सचिव एवं प्रशासकीय अधिकृत जोशीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्