धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई ‘साम्पाङ’ले बजेट निर्माणमा अत्यधिक ढिलाइ भएको भन्दै स्रोत अनुमान तथा बजेट तर्जुमा समितिका सदस्यहरूलाई पत्र लेखेका छन्।
नगर प्रमुख साम्पाङले सोमबार सार्वजनिक पत्रमार्फत १५ पटक बैठक बसे पनि बजेटबारे टुङ्गो नलाग्दा आकस्मिक, विकासात्मक र नियमित कार्य प्रभावित हुने अवस्था आएको बताएका छन्। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार मसान्तभित्र बजेट पास गर्नुपर्ने कानुनी व्यवस्था भए पनि, दलीय निर्देशनको बाध्यताले बजेट निर्माणमा ढिलाइ भएको उनले स्पष्ट पारेका छन्।
पत्रमा साम्पाङले दलीय स्वार्थका कारण बैठक पटक–पटक स्थगित भएको आरोप लगाउँदै नगरपालिकालाई ठुलो कानूनी र नैतिक संकट पर्न सक्ने चेतावनी दिएका छन्। उनले समितिका सबै सदस्यलाई अपनत्व वहन गर्दै पूर्ण जिम्मेवारीसाथ चाँडै बजेट पास गर्न आग्रह गरेका छन्।
साथै, उनले बजेट पास नभएमा अवशिष्ट अधिकारको प्रयोग गरेर टिप्पणीमार्फत पछि अनुमोदन हुने गरी खर्च गर्ने र जनताको प्रशासन, विकास तथा सेवा प्रवाहलाई निरन्तरता दिने एक मात्र विकल्प बाँकी रहने उल्लेख गरेका छन्।
यसअघि पनि हर्क साम्पाङले नगरसभा तथा समितिहरूमा अनावश्यक ढिलाइ हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै आक्रामक शैलीमा पत्राचार गर्दै आएका छन्।