२६ जेठ २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

घाटे ब्राम्हणद्वारा आरोप स्वीकारदेखि किसानले मल नपाएको विषय मन्त्रिपरिषद्‍मा प्रवेशसम्म

साउन २७, २०८२
काठमाडौं
घाटे ब्राम्हणद्वारा आरोप स्वीकारदेखि किसानले मल नपाएको विषय मन्त्रिपरिषद्‍मा प्रवेशसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पशुपति आर्यघाटमा एक जनाको शवबाट मासुको टुक्रा झिकिएको विषयमा पक्राउ परेका घाटे ब्राम्हणले आरोप स्वीकार गरेका छन् । 

उनले प्रहरीसँगको बयानमा एक व्यक्तिले पूजा गर्नुछ भनेपछि कपुरको बट्टामा खुट्टाको मासुको टुक्रा र खरानी राखेर दिएको बताएका छन् । 

गत शुक्रबार काभ्रेको बनेपा–९ का राम शाहीको जलाउँदा जलाउँदैको शवबाट मासुको टुक्रा र खरानी बिक्री गरेको आरोपमा घाटे ब्राम्हण गणेश ढकाल र उनका सहयोगी उदयपुरका विनायक मैनाली हाल प्रहरी वृत्त गौशालामा छन् । 

उनीहरूलाई प्रहरीले सूक्ष्म ढंगबाट केरकार गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी आफैं गौशाला वृत्त पुगेर ढकाल र उनका सहयोगीमाथि केरकार गरेका थिए ।
००००
यसैबीच शवबाट हड्डी निकाल्ने कार्यमा संलग्न अभियोगमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिन म्याद थपको अनुमति दिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयले सात दिन म्याद थपको अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए ।
००००
 भारतको उत्तराखण्डमा गत साता आएको बाढीमा बेपत्ता नेपालीको संख्या २६ जना पुगेको छ । उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गर्ने भएको छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने गरेको गुनासो आएपछि भिजिटर पास बन्द गर्न लागिएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले बताए ।
००००
सोमवार बसेको मन्त्रिपरिषद् बैठकमा कृषकहरूले सहजै मल नपाएको विषयले प्रवेश पाएको छ । करिब ४५ मिनेट जति मलकै विषयमा कुराकानी भएको तर स्पष्ट निर्णय नभएको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई बताए ।

साँझ ८ बजेदेखि बसेको मन्त्रिपरिषद बैठक पौने ११ बजेसम्म चलेको थियो । मन्त्रालयहरूले ल्याएको कतिपय एजेण्डामा छलफल भएपनि कुनै महत्त्वपूर्ण विषयमा भने निर्णय भएन ।
००००
सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । 

मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिकाका–६ का ३५ वर्षीय शङ्कर मण्डल, तिरहुत गाउँपालिकाका ६० वर्षीया अनारवतीदेवी यादव, सप्तरी गोइठीका ६८ वर्षीय जीवछ महत्मान, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बताए ।
००००
धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई ‘साम्पाङ’ले बजेट निर्माणमा अत्यधिक ढिलाइ भएको भन्दै स्रोत अनुमान तथा बजेट तर्जुमा समितिका सदस्यहरूलाई पत्र लेखेका छन्।

नगर प्रमुख साम्पाङले सोमबार सार्वजनिक पत्रमार्फत १५ पटक बैठक बसे पनि बजेटबारे टुङ्गो नलाग्दा आकस्मिक, विकासात्मक र नियमित कार्य प्रभावित हुने अवस्था आएको बताएका छन्।
००००
रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न नमिल्ने आदेश गरेपछि उनकी पत्नी निकिता पौडेलले फेसबुकमार्फत प्रतिक्रिया दिएकी छन्।

‘म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु,’ निकिताले सामाजिक सञ्जालमा लेखेकी छन्।
००००
रुपन्देही जिल्ला अदालतले लामिछानेलाई थुनामुक्त गर्न नमिल्ने आदेश गर्दा ४ आधार लिएको छ । सोमबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई बैंक जमानत लिई रिहा गर्न नमिल्ने आदेश गरेको हो ।
००००
संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदन त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा सभामुख देवराज घिमिरेले चासो देखाएका छन् । 

उनले यस विषयमा सिंहदरबारस्थित कार्यकक्षमा सोमबार अलग अलग छलफल गरेका छन् । सभामुख घिमिरेले सत्तारुढ एमालेका मुख्य सचेतक महेश कुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशमलव ९० अङ्कले घटेर दुई हजार ८२२ दशमलव ४६ को विन्दुमा कायम भएको छ । सोमबार नेप्से परिसूचक शून्य दशमलव ९७ प्रतिशतले घटेको हो ।

सोमबार विभिन्न ३२४ कम्पनीका दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर ९८ हजार ५२५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब २१ करोड एक लाख ४२ हजार ३०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
००००
रास्वपाका सभापति रवि लामिछानेलाई राखिएको कोठामा २ वटा फ्यान रहेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले बताएको छ ।

सदस्य लीली थापाको नेतृत्वमा गएको आयोगलको टोलीले भैरहवा कारागार र लामिछानेलाई राखिएको कोठाको अवलोकन गरेको थियो ।

अवलोकनपछि सदस्य थापाले लामिछानेको कोठामा २ वटा फ्यान रहेको बताएकी हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्