
काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाडे । उनले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थालेका छन् ।
अन्नबाली र तरकारीखेती गर्न बाँदर नै बाधक भएको उनको गुनासो छ । 'घरमा बूढाबूढीमात्र बस्छौं, बाँदर आएर बारीको केही नराख्ने भएको छ,' कँडेलले भने, 'बाँदरबाट बचाउन सकिने बालीमात्र लगाउन थालेका छौँ ।' अत्यावश्यक भए पनि कतिपय तरकारी र फलफूल बजारबाट ल्याउने गरेको उनले बताए ।
कँडेलजस्तै यहाँका किसानले सुन्तला बारीमा अदुवा लगाएको बताए । कतिपय किसानले भैँसीपालन व्यवसाय रोजेका छन् । दूध उत्पादनबाट केही फाइदा भए पनि धेरै दुःख गर्न बाध्य बनेको स्थानीय टङ्क कँडेलले बताए । 'भैँसी पाल्नेले एकैछिन बस्न पनि पाइँदैन, घर छाडेर कतै जान पनि पाइँदैन,' उनले भने, 'बाँदर नियन्त्रणको कार्यक्रम नभई भएन, घरभित्रै पसेर पकाएको खानासमेत खाइदिए ।'
काठेखोला गाउँपालिकाका दर्जनौँ किसानले बारीमा मकै लगाउन छाडेर अदुवाखेती थालेका छन् । मूल्यमा पटकपटक गिरावट आउने, बजारीकरणमा समस्या भए पनि उनीहरूले बाँदरबाट जोगाउन यो काम गरेका हुन् । अलैँची लगाएर पनि उनीहरूले फाइदा लिन भने सकेका छैनन् ।
किसानले सुन्तला भने लगाएका छन् । दसैँतिहारको समय ख्याल गरेर जोगाउन सकेमा केही फाइदा लिन सकिने भएकाले सुन्तलाखेती गरेको किसान बताउँछन् । सुन्तलाबाट वर्षमा लाखौँ कमाइ गर्ने किसान बिहुँमा छन् । 'यो सुन्तलाका लागि उपयोगी स्थान हो, हामीले पनि प्रोत्साहन गरेका छौं, तर बाँदरबाट जोगाउन गाह्रो भयो भन्नुभएको छ,' कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेन्द्र सिलवालले भने, 'बजारीकरणमा सक्दो सहयोग गर्नेछौं।'
बाँदर आतङ्ककै कारण बाली नलगाउनेभन्दा संरक्षणमा ध्यान दिनेगरी किसानलाई सम्झाएको सिलवालको भनाइ छ । गाईभैँसी पाल्नेलाई भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिलिटर दूधमा पाँच अनुदान दिएको केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताए । 'नश्ल सुधार गरिएका भैँसी र गाईको दूधमा अनुदान दिएर किसानलाई निरास हुनबाट बचाउने प्रयास गरेका छौँ,' सापकोटाले भने, 'बाँदरको स्थायी समाधान नभए पनि पशुपालनमा भने किसानको आर्कषण छ ।'
बागलुङ नगरपालिका–८ का रामबहादुर खड्काले पनि कृषि फसल भित्र्याउन बाँदर आतङ्कले नसकेको र नियन्त्रण गर्न नसकेर हैरान भएको सुनाए । उनले त सुन्तलासमेत जोगाउन नसकेको गुनासो गरे । 'हेरालो राखेर पनि नसकिने रहेछ, बाँदर नियन्त्रण नभए अन्नबाली र फलफूल लगाएर किसान बाँच्न गाह्रो भइसक्यो,' उनले भने ।
बाँदरको कारण कृषिबाली जोगाउन समस्या परेपछि कतिपयले घरै छाडेर हिँड्न थालेका छन् । जैमिनी नगरपालिका–१ टुनीबोट १० को राङखानीका अधिकांश बस्ती त रित्तो भइसकेका छन् । काठेखोला गाउँपालिका–५ कै करलिम बस्ती पनि रित्तोजस्तै भइसकेको हो ।
पेसा फेरेर दूध उत्पादनमा लागेका किसानको पनि गुनासो बढी छ । लागत र दुःख धेरै भएकाले नाफा कमाउन नसकिने कँडेलले बताए । 'एउटै भैँसीलाई दुई लाखसम्म पर्छ, दु्ई वर्षसम्म लगातार दूध बेच्न सकिएन भने लगानी उठ्दैन,' उनले भने । गाईभैसी पालेका किसानले एक दिन घर छाड्न पनि नपाएको उनको उनको गुनासो छ । किसानले दूधमा उचित बजार पनि नपाएको उनले बताए ।
वैकल्पिक बाटो रोजेका किसानलाई उत्पादनमा प्रोत्साहन गर्न बजारीकरण तथा यान्त्रिकीकरणमा साथ दिने सापकोटाले बताए । अवस्थाअनुसारको उत्पादन गरेर आत्मनिर्भर बन्ने बाटो खोज्न लगाएको उनको भनाइ छ । दूधको मूल्य बढाउनेबारे भने अहिले निर्णय नभएको उनले बताए । मकैको साटो साइलेज घाँस लगाएर थप आम्दानी गर्न सकिने सापकोटाको सुझाव छ । रासस