
गाईजात्रा मनाउने क्रममा भक्तपुरको टौमडी, पाँचतले मन्दिर प्राङ्गणमा झैझगडा गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
यही साउन २५ गते राति करिब सवा ११ बजेतिर उक्त स्थानमा गाईजात्रा पर्व मनाउने क्रममा झैझगडा भइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संलग्नहरूको खोजी थालेको थियो ।
त्यसक्रममा ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने २२ वर्षीय महेश तामाङ, भक्तपुरको भक्तपुर नगरपालिका-५ भेलुखेल बस्ने ३४ वर्षीय अमन देउला र भक्तपुर नगरपालिका-५ साकोठा बस्ने ३४ वर्षीय राज कपाली पक्राउ परेका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
उनीहरू कुटपिटमा संलग्न अभियुक्त रहेका प्रहरीले जनाएको छ । तीन जना पक्राउ परेपछि घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी नेउपानेले बताए ।