१५ असार २०८३, सोमबार
कैदीबन्दीमा विभेद

रविजस्तै सबै कैदीबन्दीले ‘एट्याच बाथरूम’ र कूलरसहितको सिँगै कोठा पाएका छन् ?

साउन २७, २०८२
काठमाडौं
रविजस्तै सबै कैदीबन्दीले ‘एट्याच बाथरूम’ र कूलरसहितको सिँगै कोठा पाएका छन् ?

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कारागार प्रशासनले अतिरिक्त सुविधा दिएको विषय सतहमा आएको छ ।

कारागार प्रशासनबाट कैदीबन्दीले समान व्यवहार पाउनुपर्छ । तर, रविलाई कूलर र एट्याच बाथरुमसहितको ‘सिंगल रुम’ दिइएको विषय बाहिरिएपछि भैरहवा कारागारका प्रशासक, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा कारागार व्यवस्था विभागका महानिर्देशकमाथि प्रश्न चिह्न खडा भएको छ ।

यद्यपि, सोमबार राष्ट्रिय मानवअधिकार आयोगको टोली जाँदा भने रवि बसेको कोठामा २ वटा फ्यान थियो । आयोगको टोली जानुअघि कूलर निकालेर फ्यान राखिएको कारागार व्यवस्थापन विभागले नै स्वीकारेको छ ।

भैरहवा कारागारका प्रशासक सुरेश भण्डारीले कारागारकै खर्चमा रविको कोठामा कूलर राखिदिएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले पुष्टि गरे । तर, पहिले भण्डारीले विज्ञप्ति जारी गर्दै रविलाई अतिरिक्त सुविधा नदिएको उल्लेख गरेका थिए ।

विभागकै एक अधिकृतले लोकान्तरसँग भने, ‘कारागारले आफ्नो पूँजीगत खर्च हेरेर कैदीबन्दीलाई सेवासुविधा दिन सक्छ, तर अहिले चर्चामा आएको रविको कोठामा कूलर राख्ने कुरा महानिर्देशक र गृह मन्त्रालय दुवै निकायलाई थाहा थिएन ।’

‘कैदीबन्दीलाई एउटै सुविधा दिनुपर्ने होइन र ?’ भन्ने प्रश्नमा महानिर्देशक भट्टराईले भने, ‘यो कुरा मसँग होइन, गृह मन्त्रालयमा बुझ्नुस् । मलाई रिपोर्टिङ भएअनुसार कारागार प्रशासनले रविको कोठामा आफ्नै खर्चमा कूलर राखेको हो, मानव अधिकारको टोली जाँदा बिग्रिएर बनाउन लगेको रहेछ ।’

भट्टराई थप जवाफ दिनबाट पन्छिए । उनले रविलाई कूलर सुविधा दिएको सम्बन्धमा गृहलाई सोध्न अह्राएकाले कतै उक्त सुविधा गृहकै निर्देश अनुसार दिइएको त हैन ? भन्ने प्रश्न समेत उब्जिएको छ ।

लोकान्तरले गृहमन्त्री रमेश लेखकलाई यसबारेमा सोधेको थियो । लेखकले पनि प्रस्ट जवाफ दिएनन् ।

‘मानव अधिकार आयोगको टोलीले गएर हेरेको तपाईंलाई थाहै होला, त्यहाँ दुईवटा पंखा, कुर्सी, टेबल र बाथरुमसहितको कोठा दिएको भनेर उहाँहरूले नै भन्नुभएको छ । कूलर वा एसी के राखेको भन्ने कुरा मिडियामै आएका हुन् । सबै कैदीबन्दीलाई समान सुविधा दिनुपर्छ भन्नेमा मेरो एकमत छ,’ लेखकले भने ।

रविलाई अतिरिक्त सुविधा दिने कारागार प्रशासकसँग सोधपुछ गर्नुभएन ? भन्ने प्रश्नमा लेखकले भने, ‘मलाई आएको रिपोर्टमा फरक परेपछि सोध्न लगाएको छु । मानव अधिकार समितिले बोलाएको छ, त्यहीँ जवाफ दिन्छु ।’

उनले रुपन्देही कारागारका प्रशासक सुरेश भण्डारीमाथि कुनै ‘एक्सन’ लिने/नलिनेबारे ठोस जवाफ दिएनन् ।

null

विभागका पूर्व महानिर्देशक प्रदीपराज कणेलले कारागारमा राखिएका सबै बन्दीलाई एकै खालको व्यवहार गर्नुपर्ने बताए । उनले कारागारमा राखिएका कुनै पनि कैदीबन्दी भीआईपी नहुने बताए ।

‘कारागारमा तीन खालका कैदीबन्दी हुन्छन्, एउटा अदालतबाट कैद ठेकिएका, दोस्रो न्यायिक पुर्पक्षमा परेका र तेस्रो नाबालिक अनाश्रित,’ कणेलले लोकान्तरसँग भने, ‘कैदीबन्दीलाई रासन र लत्ताकपडा दिने अनिवार्य दायित्वबाट कारागार प्रशासन पन्छिन पाउँदैन । कारागारमा कोही पनि भीआईपी हुँदैन, तर जेलको आन्तरिक प्रशासनले चाह्यो भने अतिरिक्त सुविधा दिन सक्छन् ।’

जेलभित्रको आन्तरिक प्रशासन कैदीबन्दीमध्येबाटै चुनिएका नाइके र चौकीदार हुने भएकाले उनीहरूले जेलबाट बाहिर निस्किएपछि पनि सम्बन्ध निकट राख्न अतिरिक्त सुविधा दिन सक्ने कणेल बताउँछन् ।

पूर्व गृहमन्त्री भीम रावलले कारागारमा रहेका कैदीबन्दीलाई दिने सुविधामा कानूनबमोजिम गर्नुपर्ने बताए । उनले भने, ‘विगतमा राजवन्दीहरूलाई ‘क’ श्रेणीको सुविधा र आपराधिक कार्य गरेर जेल परेकालाई ‘ख’ श्रेणीको सुविधा दिने चलन थियो । अहिले त नियमावली नै बनेको छ, सबै कैदीबन्दीलाई समान व्यवहार गर्नुपर्छ ।’

रावलले रविको हकमा बाहिर आएका सतही कुरालाई आफूले गहिरो अध्ययन नगरेको बताए ।

हाल देशभरका ७५ वटा कारागार २८ हजार बढी कैदीबन्दी छन् । राष्ट्रिय मानव अधिकार आयोगले पनि सबै कैदीबन्दीलाई समान व्यवहार गर्नुपर्ने औंल्याएको छ ।

अपवादबाहेक भीआईपी (चर्चित र सरकारको कुनै ओहोदामा बसेर काम गरेका व्यक्ति)लाई कारागार प्रशासनले नै राम्रो रेखदेख र सुविधा दिँदै आएका छन् । तर, अन्य आपराधिक गतिविधिमा संलग्न भएर अदालतबाट जेल सजाय ठेकिएका कैदीबन्दीलाई भने जेल प्रशासनले सामान्यसरह सुविधा दिँदै आएको छ ।

असारसम्मको तथ्यांक हेर्दा रुपन्देही कारागारमा ६ सय ३३ जना कैदीबन्दी थिए ।

ब्लकअनुसार राखिएका कैदीबन्दीले लाम लगाएर शौच गर्नुपर्ने बाध्यता छ । एकै ठाउँमा कपडा धुने, नुवाइधुवाइ गर्ने र खाना समेत एकै ठाउँमा बसेर खाने गर्दै आएका छन् । गर्मीमा पंखा र जाडोमा हिटर तथा कम्मलको व्यवस्था नगरिँदा कैदीबन्दी बिरामी भएर मृत्यु भएका घटना पनि छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो १० वर्षको अवधिमा ६ सय ३७ कैदीबन्दीले ज्यान गुमाएको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०८१/८२ सम्मको अवधिमा ६ सय ३७ कैदीबन्दीले ज्यान गुमाएका हुन् ।

त्यसमा पनि सबैभन्दा बढी काठमाडौं उपत्यकाको कारागारमा कैदीबन्दीले ज्यान गुमाएका छन् । काठमाडौं उपत्यकाको डिल्लीबजार कारागार, केन्द्रीय कारागार सुन्धारा र ललितपुरको नख्खु कारागारमा यो २९४ कैदीको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।

एकातिर कैदीबन्दीले उपचार नपाएर मृत्यु हुने घटना बढ्नु र अर्कातिर भीआईपीका नाममा न्यायिक पुर्पक्षमा रहेका बन्दीलाई अतिरिक्त सुविधा दिनुले कारागार प्रशासनमाथि प्रश्न उठेको छ ।

salt training

कमेन्ट गर्नुहोस्