०२ साउन २०८३, शनिबार

कार्यकारी अध्यक्षको हङकङ भ्रमण व्यावसायिक आवश्यकताबाट निर्देशित थियो- निगम

साउन २७, २०८२
काठमाडौं
कार्यकारी अध्यक्षको हङकङ भ्रमण व्यावसायिक आवश्यकताबाट निर्देशित थियो- निगम

नेपाल वायु सेवा निगमले कार्यकारी अध्यक्ष युवराज अधिकारीको हालै भएको हङकङ भ्रमण व्यावसायिक आवश्यकताबाट निर्देशित रहेको बताएको छ । साथै, उक्त भ्रमण  पूर्ण रूपमा स्वीकृति प्राप्त र नियमअनुरूप रहेको पनि निगमले जनाएको  छ। 

नेपाल-हङकङ उडानको ४३ औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा अध्यक्ष अधिकारी सहभागी भएको र उक्त कार्यक्रम ‘हङकङ-नेपाल उडान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबाट गरौं’ भन्ने नाराका साथ सम्पन्न भएको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष नेतृत्वको टोलीको हङकङ भ्रमण निगमको उडान सेवा विस्तार, बजार शुद्धीकरण, कार्गो तथा यात्रु सेवा सुधार र स्थानीय सरोकारवालासँग प्रत्यक्ष छलफल गर्न औपचारिक रूपमा एक महिना अगाडि स्वीकृत योजनाअनुसार गएको निगमले बताएको छ । 

‘नेपाल-हङकङ उडानको ४३ औं वर्षगाँठको उपलक्ष्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कार्गो ट्रयाकिङ सिस्टम, उडान ढिलाइ तथा रद्द हुने समस्या समाधान, वाइडबडी जहाजको प्रभावकारी प्रयोग गर्ने विषयमा हङकङस्थित सरोकारवाला ट्राभल एजेन्सी तथा नेपाली समुदायसँग प्रत्यक्ष छलफल भएको थियो’, निगमका प्रवक्ताद्वय मनोजकुमार शाह (प्राविधिकतर्फ) र सुवास डाँगीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निगमको जहाज नियमित तालिकाअनुरुप हङकङ उडान गरिएको विषयलाई विषयान्तर गरी निगम अध्यक्ष लिन हङकङ उडान गरिएको भनेर केही सञ्चारमाध्यममा समाचार आएको भन्दै निगमले खण्डन गरेको छ । 

‘निगमले आफ्नो उडान तालिकाको प्रभावकारिता कायम गर्न एउटा उडान स्थगित भएपछि अर्को उडानलाई असर नगर्ने हेतुले हङकङ उडान सञ्चालन गरेको हो । उक्त दिनको उडानमा निगमका कार्यकारी अध्यक्ष लगायतका टोली फर्किने संयोग मात्र परेको हो’, विज्ञप्तिमा भनिएको छ ।

निगमको एउटा जहाजमा प्राविधिक समस्या आउँदा काठमाडौं-दम्माम सेक्टरको उडान रद्द गरिएको र उक्त सेक्टरको यात्रुलाई निगमकै खर्चमा अन्तर्राष्ट्रिय उड्डयन संस्थाको नियमानुसार बासको सुविधा उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ । साथै, उक्त सेक्टरमा होल्ड भएका यात्रुलाई अर्को दिन वैकल्पिक उडानमार्फत् गन्तव्यमा पुऱ्याउने व्यवस्था समेत गरिएको बताइएको छ ।

‘निगमको जहाज नियमित तालिकाअनुरुप उडान गर्दैगर्दा बीचमा अचानक प्राविधिक समस्या आएको कारणले कुनै न कुनै सेक्टरको उडान अवरुद्ध हुने परिस्थितिमा तत्काल उडान भर्ने दम्माम सेक्टर नै रद्द हुन गएको थियो’, विज्ञप्तिमा भनिएको छ । 

हङकङ भ्रमण सहभागी निगमका कार्यकारी अध्यक्ष अधिकारी, मार्केटिङ डाइरेक्टर टंकनिधि दाहाल र सिनियर पाइलट विजय लामाको उपस्थिति बजार वृद्धि गराउन तथा जनगुनासो सम्बोधन गरी व्यावसायिक आवश्यकता पूरा गर्न केन्द्रित रहेको निगमले जनाएको छ । 

सो कार्यक्रममा सहभागी हुँदा अनधिकृत सहभागिताको हल्ला चलाउनु निराधार र दुर्भावनापूर्ण रहेको निगमको भनाइ छ । 

null

salt training

कमेन्ट गर्नुहोस्