
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को भेलाबाट अध्यक्ष बनेका लालवीर चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ ।
मंगलबार अबेर बसेको आयोगको बैठकले रञ्जिता श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिने निर्णय गरेको हो ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था र पार्टीको विधानबमोजिम रञ्जितालाई नै अध्यक्षको मान्यता दिने निर्णय भएको लोकान्तरलाई जानकारी दिइन् ।
नाउपाको असन्तुष्ट पक्षको भेलाले साउन १५ गते लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको थियो ।
बहुमत सदस्य उपस्थित भएपनि आयोगले त्यो भेलालाई मान्यता नदिएपछि नाउपा विवाद थप बल्झिएको छ ।
रञ्जिता पोखराको लिँची बगैँचा घुस काण्डमा विवादमा परेपछि असन्तुष्ट पक्षले भेला बोलाएर अध्यक्षबाट हटाएको दाबी गरेको थियो ।
सो निर्णय अनुसार लालवीर पक्षले निर्वाचन आयोगमा विवरण अद्यावधिकका लागि निवेदन दिएको थियो ।
रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभामा ४ सांसद छन् । सुदूरपश्चिम प्रदेश सभामा पनि यो पार्टीको राम्रो उपस्थिति छ ।