१० असार २०८३, बुधबार

सुर्तीका कारण भएको थियो बाल सुधार गृहमा झडप

साउन २८, २०८२
विराटनगर
सुर्तीका कारण भएको थियो बाल सुधार गृहमा झडप

एक पोका सुर्ती (खैनी) भित्रिएको विषयमा सोधपुछ गर्दा विराटनगरको बाल सुधार गृहमा बुधबार दिउँसो भएको झडप भएको खुलेको छ ।

सामान्य विवादले उग्र रूप लिँदा सुधार गृहभित्र झडपको अवस्था सृजना भएको हो । घटनामा बाल बिज्याइँकर्ताहरूको आक्रमणबाट नेपाल प्रहरीका सहायक निरीक्षक (असई) शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरनकुमार मण्डल घाइते भएका छन् । 

टाउकोमा चोट लागेका मण्डलको कोशी अस्पतालमा उपचार भइरहेको छ भने चौधरीलाई सामान्य चोट लागेको मोरङ प्रहरीले जनाएको छ । 

केही दिनअघि सुधार गृहभित्र रहेका केही बालकले सुर्ती सेवन गरेको पाइएपछि यही साउन ५ गतेदेखि कार्यभार सम्हालेका सुधार गृहका प्रमुख गायत्रीप्रसाद ढकालले सोधपुछका लागि बोलाएका थिए । 

सोधपुछकै क्रममा अन्य बाल बिज्याइँकर्ताहरू पनि एकैपटक कार्यकक्षमा प्रवेश गरी होहल्ला र आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ  । प्रत्यक्षदर्शीहरूका अनुसार, उनीहरूले इँटा प्रहार गर्न थालेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । 

लगत्तै ३० देखि ५० जना बाल बिज्याइँकर्ताहरू मुख्य गेट तोडेर बाहिर निस्किएका थिए । तर, प्रहरी टोलीले उनीहरूलाई घेरा हालेर  सुधार गृहमै फर्काएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समयमै सुरक्षा सतर्कता अपनाइएकाले कोही पनि भाग्न नपाएको बताए ।

झडपमा उत्रिएकाहरूले सुधार गृहको मेस भवन, सुरक्षा ब्यारेक, कार्यालयका कोठा, झ्यालका सिसा र कुर्सी तोडफोड गरी क्षति पुर्‍याएका छन् । क्षतिको यकिन विवरण भने आएको छैन ।

पछिल्लो समय बाल सुधार गृहहरू नै ‘यातना गृह’ बन्न थालेको भनेर आलोचना हुने गरेको छ । र, बुधबारको घटना पहिलो पनि होइन । यसअघि पनि नाइके र ‘क्याप्टेन’ले नयाँ आउनेहरूलाई दिने यातनाका कारण झडप भएको थियो, जसमा रड र दाउरासमेत प्रयोग हुँदा सात जना घाइते भएका थिए ।

५० जनाको क्षमता भएको यस सुधार गृहमा हाल २४९ जनालाई राखिएको छ, जुन क्षमताभन्दा झण्डै पाँच गुणा बढी हो । एउटै कोठामा खाँदिएर २५ जनासम्म सुत्ने गरेका छन् । 

एउटै तलामा एउटा मात्र शौचालय रहेको बाल बन्दीहरू बताउँछन् ।  बाथरुम समेत अभाव भएकाले उनीहरूले महिनामा एक पटक मात्रै नुहाउने गरेका छन् ।

उनीहरूले खानाको गुणस्तरमाथि पनि प्रश्न उठाएका छन् । पातलो दाल र भान्टा जस्ता तरकारी मात्र दिने गरेको उनीहरूको आरोप रहेको छ । घरमा महिनौंसम्म फोन गर्न नपाउँदा मानसिक तनाब हुने गरेको उनीहरूको गुनासो छ ।

गैरसरकारी संस्था सिविन नेपालले हालै गरेको एक अध्ययनले सबै सुधार गृहको अवस्था रुग्ण र कारुणिक रहेको देखाएको छ । १८ वर्षमुनिका बालबालिकासँगै वयस्कलाई पनि राख्दा समस्या आएको अध्ययनले देखाएको छ ।

विराटनगर सुधार गृहमा रहेका २४९ मध्ये अधिकांश १८ वर्षभन्दा माथिका छन् । अदालतको आदेश र वैकल्पिक व्यवस्थाको अभावमा उनीहरूलाई यहीँ राख्न बाध्य भएको सुधार गृह प्रशासनको भनाइ छ ।

यसरी वयस्कलाई सँगै राख्दा साना उमेरकामाथि हेप्ने, कुटपिट गर्ने र आफ्नो नियन्त्रणमा राख्ने जस्ता गतिविधि बढेका छन् । यस्ता समूहले नै लागूऔषधको ओसारपसार गर्ने र झडपका घटना घटाउने गरेको पाइएको छ ।

भौतिक संरचना जीर्ण हुनु, ६ फिटको मात्र पर्खाल हुनु र क्षमताभन्दा अत्यधिक बढी चाप हुनुले सुरक्षा व्यवस्थापनमा ठूलो चुनौती खडा गरेको सरोकारवालाहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्